गायिका शान्तिश्रीको ‘चनमती’ले सबै तीज गीतहरूलाई पछाडि छाड्याे (भिडियाे)

काठमाडौं । गायिका शान्तिश्री परियारले दलितले भोग्न परेको समस्यालाई लिएर तीज गीत बनाएकी छिन् ।

गीतसंगीतमा लामो समयदेखि बिताएकी परियारले जातीय भेदभावको पीडा तीज गीत ‘फूलमती चनमती’मा पोखेकी छिन् । गायिका परियारको यो गीत हरेक ठाउँमा बज्दै आएका छन् । उनको क्षतालाई चनमतीले अझै निखारेको छ ।

पछिल्लो समयमा लोक तथा दोहोरी गीतमा महिला गायिकाको क्षेत्रमा एकछत्र कब्जा जमाएकी शान्तिश्रीले जातीय भेदभावका कारण खेप्नु परेको समस्याको बारेमा गीतमा पीडा दर्शाएकी छिन् ।

उनले गीतमा संविधानले जातीय भेदभाव अन्त्य गरेको बारेमा पनि उल्लेख गरेकी छिन् । संविधानले जातीय भेदभाव र छुवाछुत अन्त्य गरेको बारेमा गीतबाट जनचेतना जगाएकी छिन् ।

त्यति मात्रै होइन गायिका शान्तिश्रीले गीतमा बलात्कारको पीडा र अमान तथा दाइजोको कुरा पनि उठाएकी छिन् । उनले महिलाहरू पनि उच्च पदमा पुगेको बताउँदै देशको राजनीतिक अवस्थाका बारेमा उल्लेख गरेकी छिन् ।

‘फूलमती चनमती’ नामक तीज गीतमा गायिका शान्तिश्रीलाई अर्की गायिका ज्ञानु परियारले साथ दिएकी छिन । गायकमा खेम सेञ्चुरीले साथ दिएका छन् ।

गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् । गीतका संगीतकार खेम सेञ्चुरी हुन् । गीतका एरेञ्चर कृष्ण बिक हुन् । गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेडर्क गरिएको हो ।

गायिका परियारले ‘फूलमती चनमती’को म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी छिन् । छोटो समयमा गायिका परियारको यो गीतलाई झण्डै ९ लाखले हेरेका छन् । म्युजिक भिडियोका निर्देशक शिव विक हुन् । म्युजिक भिडियोमा गायिका परियारका साथै अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

प्रकाश सपुतको ‘बोलमाया’बाट एकाएक चर्चामा आएकी गायिका परियारलाई अर्को गीत ‘गलबन्दी’ले पनि उत्तिकै उचाइँ दिएको छ । गलबन्दीमा दलित भएको पीडाबाट आजित बनेकी गायिका परियारले आफ्ना अन्तर्वार्ताहरूमा दलित भएको समस्या झेल्नु परेको बताउँदै आएकी छिन् ।

गायिका परियारले संविधानले अधिकार दिँदा पनि पटक पटक दलित भएको समस्या भोग्नु परेको बारेमा चनमतीमा उल्लेख गरेकी छिन् । देशमा विकास हुँदा पनि आफूले यो समस्या भोग्नु परेकोमा चिन्ता जनाएकी छिन् ।

गायिका परियारले पढाइमा पनि सबैलाई ध्यान दिन भनेकी छिन् । शिक्षाले पनि जातपातमा समस्या बनाउने उनले गीतमार्फत जनाएकी छिन् ।

मिडियाबाट आफूलाई सधै टाढा राख्न रुचाउने गायिका परियारले आफ्नो काम र कर्मलाई विश्वास गर्छिन् । उनी मिडियामा धेरै आउन चाहँदैनिन् । गायिका परियारकी साथी भूमिका गिरीले गायिका परियारको स्वर अत्यन्तै मीठो रहेको बताउँछिन् । गायिका गिरीले आफ्नै मेहनतले गर्दा गायिका परियारले यो स्थान पाएको बताउँछिन् ।

गीतका संगीतकार खेम सेञ्चुरीले पनि गायिका परियारको चनमतीमा जातीय छुवाछुतको पीडा भित्रैदेखि उर्लिएर आएको बताउँछन् ।

उनी भन्छन्, ‘चनमतीले विशेष गरेर जातीय छुवाछुतलाई जोडेको छ । यो गीत सन्ने मान्छेलाई मनमा चसक्क छुन्छ ।’ संगीतकार सेञ्चुरीले पनि जातीय छुवाछुटको अन्त्यका लागि चनमतीले थोरै भएपनि भूमिका खेल्ने बताएका छन् ।

Published : Thursday, 2019 August 8, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया