छवि–शिल्पा ‘काण्ड’मा रौनियार दम्पत्ति फस्यो, अख्तियारमा उजुरी

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको विवाहमा साक्षी बसेका र बहुविवाह गराउन भूमिका खेलेका सरकारी कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उच्च स्रोतका अनुसार नायिका पोख्रेलका टीका लगाएका दाई विकास रौनियार र भाउजु सम्झना उप्रेती रौनियारका साथै काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडासचिवविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

पदीय अख्तियारको दुरुपयोग गरेर वडासचिवले पोख्रेल र ओझाको विवाह दर्ता गरिदिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

रौनियार दम्पत्ति ओझा र पोख्रेलको विवाहमा साँक्षी बस्नुका साथै जन्ती गएको अख्तियारमा परेको उजुरीमा उल्लेख रहेको छ ।

रौनियार दम्पत्तिले नायिका पोख्ररेल र निर्देशक ओझाको घर भाँड्न भूमिका खेलेको भनेर आलोचना भइरहेको छ । ओझा स्वयंले रौनियार दम्पत्तिले पोख्रेललाई उचालेर घरझगडा पारिदिएको आरोप लगाउँदै आएका छन् ।

बिहीबारदेखि नायिका पोख्रेल र निर्माता ओझाको घरेलु झगडाले अर्को रुप लिएको छ ।

विवाहमा साँक्षी बसेकी निर्देशक उप्रेती र उनका पति फोटोग्राफर रौनियार तथा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का सचिव ओझा–पोख्रेलको घरझगडा काण्डमा फस्ने पक्का भएको छ ।

ओझाको चौथो र पोख्रेलको दोस्रो विवाहमा जन्ती जाने, भोज खाने, विवाहमा संलग्न हुने, विवाह दर्तामा संलग्न हुने सरकारी कर्मचारीहरू, विवाह गराउने पण्डित पनि सजायको भागीदार हुने कानूनी प्रवधान छ ।

ओझाले रौनियार दम्पत्तिले पोख्रेललाई उचालेर आफूविरुद्ध प्रहरीमा घरेलु हिंसाको मुद्धा दर्ता गरेको आरोप लगाउँदै आएका छन् ।

घरेलु हिंसा भएको भन्दै नायिका पोख्रेलले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरी परिसरले दुबैलाई बोलाएर झगडा नगर्ने गरी सहमति पत्रमा हस्ताक्षर गराएको थियो ।

त्यसपछि पोख्रेलले डिभोर्सका लागि कानूनी प्रक्रिया अगाडि बढाएकी थिइन् ।

ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेपछि पोख्रेल र ओझालाई पक्राउ गर्न प्रहरीले बुधबार पक्राउ पुर्जी समेत जारी गरिसकेको छ ।

Published : Thursday, 2019 July 25, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया