शिल्पाका दशा बिग्रिए, हिरासतमा थुनिनुपर्ने खतरा बढ्यो

काठमाडौं । फिल्म मेकर छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी प्रहरीमा परेको छ ।

फिल्मी निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् । ५३ वर्षीया हेमाले निवेदनमा दुबैलाई कारबाहीको माग गरेकी छिन् ।

हेमाले प्रहरीमा दिएको बहुविवाहको निवेदनसँग शिल्पा र छविको घरझगडाले नयाँ मोड लिएको छ । अब प्रहरीले छवि र शिल्पालाई पक्राउ गरेर हिरासतमा राख्छ वा राख्दैन हेर्न बाँकी छ । यो समाचार तयार पर्दासम्म प्रहरीले छवि र शिल्पालाई पक्राउ गरेको छैन ।

कान्छी सौता शिल्पा र छविलाई विपक्षी बनाइ हेमाले बहुविवाहको उजुरी दिएकी छिन् ।

गौशला वृत्तका डिएसपी प्रदीपकुमार सिंहले छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी परेको जानकारी दिएका छन् ।

उनले उजुरी परेपछि छानबिनको काम भइरहेको उल्लेख गर्दै दर्ता भने नभएको बताए ।

फिल्म निर्माता छवि ओझा र नायिका पोखरेलबीच केही समयदेखि विवाद हुँदै आएको छ ।

शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै ओझाविरुद्ध उजुरी दिएपछि उनीहरूको विवाद चुलिँदै आएको थियो ।

शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् । शिल्पाले अब छविसँग छुट्टिने निर्णय सुनाइ सकेकी छिन् ।

छविले शिल्पालाई सम्बोधन गर्दै फेसबुकमा भावुक स्टाटस लेखेका थिए । छविले शिल्पाजी भनेर सम्बोधन गर्दै ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन चाहेको उल्लेख गरेका छन् ।

शिल्पाले न्याय माग्दै छविविरूद्ध उजुरी दर्ता गरेसँगै ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ’ उनले भनेका छन् ।

छविसँग शिल्पाको पनि दोस्रो विवाह हो । छविसँग विवाह गर्नु अगाडि शिल्पाले विवाह गरिसकेकी थिइन् । त्यो विवाहलाई शिल्पाले लुकाएर राखेको स्वयं छविले आफ्ना अन्तर्वार्ताहरूमा जनाएका छन् ।

फिल्ममा नायिका बन्ने रहर बोकेर छविसँग गुपचुप विवाह गरेर लुकाइ राखेकी शिल्पाले हालै मात्रै विवाह दर्ता गरेर छविविरुद्ध टेकु प्रहरीमा उजुरी दिएकी थिइन् ।

Published : Sunday, 2019 July 21, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया