दाङमा छ जना टोले गुण्डाहरू पक्राउ, ओलीको ज्यान लिए

घोराही । दाङको तुलसीपुरमा धारिलो हतियार खुकुरी प्रहार गरेर रामबहादुर वलीको ज्यान लिने टोले गुण्डाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार सवा दुई बजेट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ रजवारा चोकमा रुद्रबहादुर डाँगीको नास्ता पसलमा स्थानीय २२ वर्षीय रामबहादुर वलीसहित ३ जनालाई ६ जनाको समूहले आक्रमण भएको थियो ।

आक्रमण भएकै दिन शनिबार प्रहरीले दुई जना र बाँकी चार जनालाई आइतबार पक्राउ गरेर ज्यानमार्ने उद्योगमा मुद्ध चलाएको छ ।

नास्ता खाइरहेको अवस्थामा मोटरसाइकलको नम्बर प्लेट उल्टो बनाएर ३ वटा मोटरसाईकलमा २–२ जनाको दरले धारिलो हतियार खुकुरी तथा तरवार लिई आएका उनीहरूले एक्कासि आक्रमण गरी होटलको दक्षिणतर्फ भागेका थिए ।

आक्रमणको खबर प्राप्त हुना साथ परिचालन भएको प्रहरीले पिछा गर्दै जाने क्रममा मोतीपुरको नर्सरी जंगलमा नम्बर प्लेटभित्रतिर फर्काएर राखेको अवस्थामा रा ४ प १६० नम्बरको को २०० सीसीको पल्सर मोटरसाईकल, रा ४ प २२३६ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल र रा ५ प ४७६ नम्बरको १५० सीसीको पल्सर मोटरसाईकल फेला परेको प्रहरीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

खोज तलास गर्दै जाँदा उक्त नर्सरीको जंगलको पश्चिम उत्तर किनारमा छ जना व्यक्तिहरूलाई शंकास्पद अवस्थामा असार २८ गते शनिबार नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू साथबाट रा ५ प ४७६ नम्बरको सवारी धनी पुर्जी थान १, मोटरसाईकलको चाबी थान १ र मोबाईल थान २ समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फरार रहेका अन्य ४ जनालाई आइतबार २ बजे दंगीशरण गाउँपालिकाको वडा नम्बर २ डाँगीचौर कलम खोलाबाट पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

६ जनाको टोले गुण्डाहरूको समूहबाट घाइते रामबहादुर वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार पश्चात थप उपचारको लागि भारतको लखनउ लैजाँदै गर्दा आइतबार १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा टोले गुण्डाहरूमा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरास बस्ने वर्ष २२ का सौरभ मल्ल, वडा नम्बर ६ बस्ने वर्ष १९ का शुभम् शर्मा, वडा नम्बर १२ कपडादेवी बस्ने वर्ष २४ का तेजेश पुन मगर, वडा नम्बर ११ बेलटाकुरा बस्ने वर्ष २२ का रमेश केसी, वडा नम्बर ११ बेलटाकुरा बस्ने वर्ष २० का अमृत वली र वडा नम्बर ११ वेलटाकुरा बस्ने वर्ष २२ को भरत शाही रहेका छन् ।

Published : Sunday, 2019 July 14, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया