निर्माण व्यवसायीका अध्यक्षको घरमा ग्याङफाइट

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसियाको घरमा झडप भएको छ ।

शनिबार दिउसो दुई समूहबीच चौरसियाको घरमा कुटपिट भएको हो । झडपमा तीन युवक घाइते भएका छन् ।

अध्यक्ष चौरसियाकै छोराको समूहको धारिलो हतियार प्रहारबाट तीनजना युवक घाइते भएका हुन् । अध्यक्ष रमाकान्त चौरसियाका छोरा रविकान्त चौरसियाले धारिलो हतियार प्रहार गरी तीनजना युवकलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

रविकान्तसहितका युवाहरूले धारिलो हतियार प्रहार गरी तीनजना युवालाई घाइते बनाएको बताइएको छ ।

घाइते हुनेहरूमा वीरगञ्जको छपकैयाका वर्कत अली, छपकैयाकै जावेद अन्सारी र श्रीपुरका शरद पटेल छन् ।

रविकान्तले तीन जनालाई आफ्नो घरमा बोलाएर साथीहरूको सहयोगमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको घाइते युवकका अभिभावकले बताएका छन् ।

घटनापछि घाइतेका आफन्त र गाँउलेले अध्यक्ष रमाकन्तको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् ।

हतियार प्रहार गर्नेमध्येका रविकान्त र घरमा ढुंगामुढा गर्नेमध्येका एक जना गरी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार रविकान्त र उनका साथीहरूबीच विवादका क्रममा झगडा हुँदा रविकान्तको समूहले आक्रमण गरेको थियो ।

झगडाको कारण भने खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Published : Saturday, 2019 July 13, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया