प्रहरीलाई चक्मा दिँदै आएको धन्दावाल गिरोह पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले नक्कली लाइसेन्स बनाउने चार जनाको गिरोह पक्राउ गरेको छ ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र यातायात व्यवस्था कार्यालबाट स्मार्ट लाइसेन्स बनाइदिने भनि नक्कली सवारी चालक अनुमति पत्रहरू तयार गरेर बिक्री गर्ने समूहलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला घर भई हाल ललितपुरको धोबीघाट बस्ने ४० वर्षीय मुनालकुमार मोक्तान, सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंको चाबहिल बस्ने ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौंको तिलगंगाका ३८ वर्षीय राधेश्याम नगरकोटी र काठमाडौंको कागेश्वरी मनहरा निवासी २७ वर्षीय रुपेन्द्र दर्जीलाई विभिन्न सामाग्रसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको गिरोहले रकम समेत लिई गैरकानूनी तबरले केही व्यक्तिहरूले सरकारी कागजात दस्तखत किर्ते समेत गरी संगठित रुपमा नक्कली लाइसेन्स तयार तथा बिक्री बितरण गरेको भन्ने विशेष सूचनाको आधारमा चार जनाको समूहलाई पक्राउ गरिएको थियो ।

नक्कली लाइसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोहको खोजतलास गर्दै जाने क्रममा असार १८ गते काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरूबाट सरकारी छाप दस्तखत किर्ते र नक्कली लाइसेन्स समेतका दशी प्रमाणसहित ती व्यक्तिहरू पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट यातायत व्यवस्था विभागको नगदी रसिद ६० थान, कम्प्युटर १ सेट, प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प थान २, तोसिबा कम्पनीको ३२ जिबीको पेन ड्राईभ थान १, पीभीसी पेपर ३० थान, क्यामेल लेखिएको स्टयाम्प थान १, काउन्सुलर अफिस लेखिएको छाप थान १, यातायत व्यवस्था कार्यालयको अंग्रेजी छाप थान १, विभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपी बरामद गरेको जनाएको छ ।

Published : Thursday, 2019 July 4, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया