नेकपा निकटका गुण्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रतिनिधि सभाकी समानुपातिक सांसद नवीना लामाले पटक पटक प्रहरीको पञ्जाबाट बचाइएका गुण्डा नाइके सत्यमान लामा पुनः पक्राउ परेका छन् ।

प्रहरीले लामालाई ठगी आरोपमा पक्राउ गरेको हो । नेकपा निकटका लामालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु, काठमाडौंको विशेष टोलीले पक्राउ गरेको छ ।

भूकम्प पीडितका लागि काभ्रेको तिमाल गाउँपालिकामा हस्पिटल बनाउँछु भनेर लामाले १ करोड ७५ लाख रुपियाँ लिएका थिए ।

ताइवानको संस्था वर्ल्ड विथ आउट सफरिङबाट रकम लिएर लामाले काम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ ।

विस्तृत अनुसन्धानका लागि अख्यितारले महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुलाई पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा लामाको बैंक खातामा पैसाको कारोबार देखिएको थियो ।

पीडितका अनुसार लामाले रकम लिइसके पनि हस्पिटलको जग समेत हालिएको छैन । लामा अर्का गुण्डा नाइके दावा लामाका सहयोगी समेत हुन् ।

उनी बोदिचित्तको व्यापार समेत गर्छन् । लामाको नाम रक्तचन्दन तस्करी पनि मुछिएको छ ।

गत वर्ष असार २८ गते काठमडौं प्रहरी परिसर, टेकुले सत्यमान लामालाई किसानको बोदिचित्तको माला लुटपाट गरेको अभियोगमा पक्राउ गरेको थियो ।

नेकपाकी सांसद नवीना लामाले ‘मेरो भाई हो’ भनेर गुण्डा नाइके सत्यमान लामालाई छुटाएकी थिइन् । सत्यमान लामालाई प्रहरीले गुण्डाको ‘क’ वर्गको सूचीमा राखेको छ ।

Published : Tuesday, 2019 July 2, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया