श्रृङ्खलाबद्ध सिरिञ्ज आक्रमणकारीको बयानले प्रहरी छक्क

काठमाडौं । काठमाडौंमा महिलाहरूमाथि श्रृङ्खलावद्ध रुपमा शंकास्पद् सिरिञ्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरूलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ । हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् ।

कार्कीले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् ।

कार्कीले आक्रमण गर्नुको कारण भने रमाइलोका लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे ।

घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरूलाई आक्रमण गर्ने गरेको उनले बताएका छन् ।

घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले कार्कीले शुरूमा काठ र पछि काँटीले घोपेको बयान दिएको जानकारी दिएका छन् ।

Published : Friday, 2019 June 28, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया