प्रकाश शपुतले गीत चोरी गरेको स्वीकार गरे, शम्भुको नाम राख्ने सहमति

काठमाडौं । गायक एवम् सर्जक प्रकाश शपुतले अर्का संगीतकार, गायक एवम् सर्जक शम्भु राईको गीतको अशं चोरी गरेको पुष्टि भएको छ ।

शम्भु राई र प्रकाश शपुतबीच भएको असार ११ गते बुधबार काठमाडौंमा भएको सहमतिअनुसार गीतका अंश मिलेको दुबै पक्षले स्वीकार गरेका छन् । गीतबाट हुने आर्थिक आर्जन

भने वरिष्ठ संगीतकार एवम् गायक शम्भु राईले प्रकाश शपुतलाई छाडिदिएका छन् । गीतले आर्जन गर्ने कुनै पनि पैसामा राईले दाबी गर्ने छैनन् ।

‘लिखितम हामी गायक/संगीतकार शम्भु राई र गायक प्रकाश सपुतबीचमा हालै प्रकाश शपुतद्वारा प्रकाशित लोक दोहोरी गीत ‘गलबन्दी’को विषयमा देखा परेको असहमति र सो विषयमा नेपालको सांगीतिक बजार र सामाजिक सञ्जालमा आएका विविध कुराहरूलाई सम्बोधन हुने गरी उक्त असहमतिलाई समाधन गर्नका लागि हामी दुबै पक्षले निम्न लिखित बुँदाहरूमा सहमति गरी निम्न बमोजिमका व्यक्तिहरूको रोहबरमा सहिछाप गरी लियौँ दियौँ’, सहमति पत्रमा भनिएको छ ।

सहमतिको पहिलो बुँदामा ‘प्रकाश शपुतको लोक दोहोरी गीत ‘गलबन्दी’ बोलको गीतको लय र संगीतको नाम सन्दर्भमा छलफल हुँदा शम्भु राईबाट विगतमा प्रकाशित भएको ‘देउसी भैलो’ गीतमा रहेको ‘आउ नाँचौँ साथी हो कम्मर कसेर, दई दिनको जिन्दगी विताउँ हाँसेर’ भन्ने लयसँग प्रकाश शपुतद्वारा प्रकाशित ‘गलबन्दी’ बोलको गीतको ‘गलबन्दी/पछ्यौरी च्यतियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अशंमा लय मिल्न गएको देखिएकोले लोक दोहोरी ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुन? संगीत सिर्जना प्रकाश शपुत हुने गरी युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’ भन्ने उल्लेख छ ।

सहमतिको दोस्रो बुँदामा ‘गलबन्दी गीतको हालसम्मको तथा अब उप्रान्त समेत कुनै पनि माध्यम (युट्युब लगायत अन्य डिजिटल माध्यमहरू)बाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा श्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश शपुतकै अधिकार रहने र शम्भु राईले कुनै पनि आर्थिक अधिकार एवम् प्रतिलिपि अधिकारमा दाबी नगर्ने साथै अन्य कुनै पनि डिजिटल प्लेटफर्महरूले उक्त गीतको संगीत मिल्न गएको भनि दाबी गरेमा सो समस्यालाई दुबै पक्षले सहजीकरण गर्ने’ भनिएको छ ।

सहमति संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोता समाज नेपालका महासचिव भीषण मुकारुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी, राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष राजेन्द्रकुमार कार्की र वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना तथा भोजराज थापाको रोहबरमा असार ११ गते बुधबार लिखित सहमति भएको छ ।

सहमतिअनुसार गलबन्दी गीतमा संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ ।

सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद सल्टिएको छ ।

यसअघि पनि गायक प्रकाश शपुतलाई गीत चोरीको आरोप लाग्दै आएको थियो । यसअघि प्रकाश शपुत बचे पनि यस पटक उनी फसेका छन् ।

Published : Wednesday, 2019 June 26, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया