एक बोरा नेपाली रुपियाँसहित बृजकिशोर पक्राउ

वीरगञ्ज । बारा जिल्ला प्रहरीले एकजना भारतीय नागरिकलाई नेरु. ५७ लाख ७९ हजार ४ सय ९० रुपियाँ सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक बृजकिशोर कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फूलवरियाको संयुक्त टोलीले सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० नेपाली रुपियाँँसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईका अनुसार भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला बस्ने बृजकिशोर कुमारलाई चेकजाँचका क्रममा स्रोत नखुलेको रकम फेला परेको थियो ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार बृजकिशोर कुमारले दुबै खुट्टाको घुँडा मुनी पिडौला, कम्मर, जिन्स पाइन्टको गोजी, हेल्मेट र डिक्की लुकाएको अवस्थामा यति ठूलो परिणामको नेपाली रुपियाँ सहित पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरी बरामद नगद रूपियाँसहित आवश्यक छानबिन तथा कार्वाहीका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिएका छन् ।

Published : Wednesday, 2019 June 12, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया