मुख्यमन्त्रीको गृहजिल्ला दाङमा यौनधन्दा, १६ जना पक्राउ

घोराही । दाङ जिल्लामा अनैतिक कार्य गर्ने र गराउने होटल सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेर फौजदारी अभियोगमा मुद्धा चलाउन शुरू गरेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ र १५ मा रहेका तीन वटा होटेलमा यौनधन्दा हुने गरेको हो । प्रहरीद्वारा जारी विज्ञप्तिमा महिला र पुरुष तथा होटेल सञ्चालकहरूलाई दश दिनको म्याद थप गरेर अनुसन्धान शुरू गरिएको उल्लेख छ ।

प्रहरीले गुनाम, पञ्चकन्या र स्टार होटेलमा जेठ २१ गते गोप्य सूचनाका आधारमा छापा हानेको थियो । छापा हान्ने क्रममा प्रहरीले महिला १२, चार पुरुषसहित १६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै महिला र पुरुषहरू दाङ जिल्लाका होइनन् । घोराहीमा आएर व्यावसायिक रुपमा यौनधन्दा चलाउने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

दाङ प्रहरीले होटेलमा जम्मा भेला भएर समाजमा असर पर्ने गरी सार्वजनिक नैतिकताविरुद्ध कार्यमा संलग्न रहेका १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी कार्यविधि (संहिता) अनुसार १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

दाङ जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा गोप्य ढंगले यौनधन्दा हुने गरेको बेलाबेला समाचार आइरहेका थिए । तर, प्रहरीले ध्यान दिएको थिएन । स्थानीयहरूले यस्ता कार्य गर्नेलाई कारबाही गर्न दवाव दिएका थिए ।

प्रदेश ५ का मुख्यमन्त्रीको गृहजिल्ला एवम् निर्वाचन क्षेत्र समेत रहेको घोराही नगरपालिकामा यौनधन्दा फस्टाउँदै गएकोमा धेरैले चिन्ता जनाएका छन् ।

Published : Thursday, 2019 June 6, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया