आइजीपीद्वारा खेलकुदमा पदक विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरूलाई नगद पुरस्कार एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरेका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार, विज्ञान र प्रविधिमा बिशेष योगदान पु¥याउने प्रहरी हवल्दार पूर्णबहादुर आलेलाई प्रशंसापत्र वितरण गरेका हुन् ।

राष्ट्रिय खेलकुदको सन्दर्भमा नेपाल प्रहरीका कर्मठ अग्रज एवं वर्तमान खेलाडीहरूको ठूलो योगदान रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्रहरी संगठनको प्रतिनिधित्व गर्दै विभिन्न पदक जितेर राष्ट्रिय सम्मान बढाउन संगठनमा आवद्ध खेलाडीहरूको योगदान अतुलनीय रहेको बताए ।

खेलकुदको क्षेत्रमा विकासमा चाहिने पूर्वाधार एवम् साधन श्रोतयुक्त बनाई खेल जगतमा भविष्य सुनिश्चित गरी खेलाडीहरूको व्यावसायिक जीवन र सामाजिक प्रतिष्ठा बढाउन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताए ।

खनालले हरेक खेलाडीले आफ्नो खेलस्तर बढाउनुका साथै व्यक्तिगत एवम् सामाजिक प्रतिष्ठा बढाउनका लागि समयको खोजी गर्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी संगठन निस्वार्थ सेवाभावले काम गर्ने संगठन रहेको तथा प्रहरी संगठनले खेलाडीलाई दिने सेवा, सुविधा सम्बन्धमा नियमावलीमा आवश्यक सुधार गर्न कदमहरु चालिसकेको बताए ।

विगतमा केही राम्रा खेलाडी पलायन समेत भएकोमा अबका दिनमा त्यो अवस्था आउन नदिने समेत उनले उल्लेख गरेका छन् ।

सम्पूर्ण खेलाडीहरू राष्ट्रका गहना भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक प्रतिष्ठा एवम् राष्ट्रिय पहिचान कायम गर्न खेलाडीहरूले ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आउँदा दिनमा हुने प्रतियोगितामा पनि उच्च प्रदर्शन गर्दै सफलता हासिल गर्न उपस्थित खेलाडीहरूलाई उनले निर्देशन दिए ।

जहाँ राज्यका नागरिक स्वास्थ्य हुन्छन् त्यहाँ आपराधिक घटना कमी हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले देशका युवा वर्गलाई खेल जगतमा आवद्ध गराउन सकेमा मानसिक एवम् शरीरिक रुपमा सबल हुनुका साथै ती युवा वर्ग आपराधिक क्रियाकलापमा संलग्न नहुने बताए ।

समारोहमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै २०७५ चैत २७ गतेदेखि २०७६ वैशाख ११ गतेसम्म ५ नम्बर प्रदेशका विभिन्न जिल्ला तथा ललितपुरमा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीकोतर्फका खेलाडीहरूले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल भएको जानकारी गराए ।

विजेता खेलाडीहरूलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट स्वर्ण पदक विजेतालाई ५ हजार रुपियाँ, रजत पदक विजेतालाई ३ हजार रुपियाँ र कास्य पदक विजेतालाई २ हजार रुपियाँ प्रदान गरिएको छ ।

विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल १५ जना खेलाडीहरूलाई जनही थप नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा । प्रतियोगितामा २ हजार ६ सय ८८ पदको लागि नेपाल प्रहरीकोतर्फबाट २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए ।

Published : Tuesday, 2019 May 21, 8:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया