खेलाडीको पीरमर्का कांग्रेसले मात्रै बुझ्न सक्छः मीनकृष्ण महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदको पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले कांग्रेसले खेलकुदको विकासमा ध्यान दिएपनि आवश्यक्ताअनुसारको महत्व नदिएको गुनासो गरेका छन् ।

तनहुँमा रहेका महर्जनले खेलकुदको विकासमा हरेक किसिमको सहयोग गर्नुपर्ने बताए । ‘देशभरि छरिएर रहेका खेलाडीलाई कांग्रेसले समेट्नु पर्छ’, उनले भने, ‘कम्युनिस्टहरूले खेलाडीसँग लाभ लिएर, छलछाम गरेर सधैँ धोका दिने गरेका छन् ।’

विगतमा नेपाली कांग्रेसको सरकारले खेलकुदको विकासमा गरेको योगदानले नै अहिलेको खेलकुद क्षेत्र यो अवस्थासम्म आएको उनले बताए । ‘कांग्रेसले बनाएको संरचनाले नै नेपाली खेलक्षेत्र यो ठाउँसम्म आएको छ’, उनले भने, ‘खेलाडी र खेलको महत्व कांग्रेसले जति बुझ्नु पर्ने हो बुझ्न सकेको छैन ।’

करातेका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका कांग्रेस नेता महजर्नले फुटबल, कराते, एथलेटिक्स, भलिबललगायतका सबै खेलकुदको क्षेत्रमा राम्रा राम्रा खेलाडी गाउँमा रहेको बताए । उनीहरूको पहिचान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिस्पर्धा गराउनुपर्ने महर्जनले बताए ।

कराते महासंघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका महर्जन पछिल्लो समय चुनावी अभियानमा समेत छन् ।

नेपाल कराते महासंघलाई कम्युनिस्टहरू विशेष गरेर तत्कालीन एमाले समर्थकहरूले ध्वस्त बनाएको गुनासो खेलाडीहरूबाट आएपछि महर्जनले आफूलाई अध्यक्ष पदमा अगाडि सारेका हुन् ।

महर्जनले आफू विजयी भएमा कराते खेल र खेलाडीहरूका लागि विशेष कार्यक्रमहरू ल्याउने बताए । उनले खेलाडी र प्रशिक्षकहरूको हकहितमा काम गर्ने बताएका छन् ।

Published : Sunday, 2019 March 31, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया