कांग्रेसले माग्यो कम्युनिस्ट सरकारसँग स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न कम्युनिस्ट सरकारसँग माग गरेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक रहेको जनाएको छ ।

‘तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि बैठकले स्मरण गराएको छ’, कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसले नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपील गरेको छ ।

‘निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।’

‘राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाली कांग्रेसले भनेको छ ।

Published : Tuesday, 2019 March 19, 7:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया