रामचन्द्र पौडेल पूर्वका जिल्लाहरू जाँदै, कम्युनिस्टहरूविरुद्ध लाग्न निर्देशन दिने

काठमाडौं । कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वका चार जिल्लाहरूको भ्रमण गर्न जान लागेका छन् ।

भ्रमणका क्रममा नेता पौडेलले नेता तथा कार्यकर्ता भेटघाट गर्नेछन् । उनले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध उत्रिन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनेछन् ।

पौडेलले चैतको ८ देखि १३ गतेसम्म सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा जिल्लाहरूका पार्टीका कार्यक्रमहरूमा सहभागिता जनाउनुका साथै प्रशिक्षण र निर्देशनहरू दिनेछन् ।

वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले चैत १० गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभामा सहभागी हुनुका साथै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै वरिष्ठ नेता पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

वरिष्ठ नेता पौडेल चैत १२ गते कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने कार्यक्रम छ ।

१३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ ।

पौडेलसँग नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलगायतका नेताहरू पनि जिल्ला भ्रमणमा जानेछन् ।

यसअघि वरिष्ठ नेता पौडेल गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लामा नेपाली कांग्रेसले राखेका कार्यक्रमहरूमा सहभागिता जनाइसकेका छन् ।

Published : Tuesday, 2019 March 19, 3:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया