फ्रि तिब्बतका विवादित धर्म गुरुसँग प्रचण्डको गोप्य वार्ता

काठमाडौं । अमेरिका जानु अगाडि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फ्रि तिब्बत गतिविधिमा नाम जोडिएका विवादित व्यक्ति मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटवार्ता गरेको रहस्य बाहिर आएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु अगाडि मास्टर कर्मा तान्पेइले प्रचण्डसँग खुमलटारमा लामो भेटवार्ता गरका हुन् । स्रोतका अनुसार प्रचण्ड र मास्टर कर्मा तान्पेइबीच समग्र राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रचण्डले आफ्नै निवास खुमलटारस्थित निवासमा तान्पेइसँग १३ मार्चका दिन भेटवार्ता गरेको स्रोतको दाबी छ । भेटवार्तामा के–के कुराकानी भएको थियो केही बताइएको छैन ।

तर, प्रचण्ड र मास्टर कर्मा तान्पेइबीच भएको यो गोप्य वार्तालाई रहस्यका रुपमा लिइएको छ ।

बौद्ध धर्मगुरु मास्टर कर्मा तान्पेइले भारतमा निर्वासित जीवन बिताइरहेका फ्रि तिब्बतका नेता दलाई लामासँग बेलाबेला भेट्ने गरेका छन् । तान्पेइका सहयोगीहरू पनि दलाई लामाका अनुयायी हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा तत्कालीन समयमा प्रचण्ड र मास्टर कर्मा तान्पेइबीच नयाँदिल्लीमा पनि भेटेका थिए । त्यो भेट विवादमा परेको थियो ।

अमेरिका जानु अगाडि दाहालले विवादास्पद धर्म गुरु मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेट गर्नुलाई विभिन्न थरी आशंकाबाट हेरिएको छ ।

नेपालले एक चीन नीति लिएको छ । नेपाल सरकारले चीनविरुद्ध हुने कुनै पनि गतिविधिलाई हुन दिएको छैन ।

नेपालले विशेष गरेर तिब्बतीयन नागरिकहरूलाई आफ्नो विशेष निगरानीमा राख्दै आएको छ ।

स्वयम्भुमा गम्बा बनाएर बस्दै आएका मास्टर कर्मा तान्पेइले आफू बस्ने गम्बामा जो कसैलाई प्रवेश दिँदैनन् । उनले आफ्नो गुम्बाको सुरक्षा आफै गर्छन् ।

गुम्भाभित्र हुने गतिविधिका बारेमा सुरक्षाकर्मीहरू पनि अनभिज्ञ छन् । राजनीतिक पहुँच भएका मास्टर कर्मा तान्पेइले नेपाल सरकारका उच्च राजनीतिक नेतृत्व, प्रधानमन्त्री, मन्त्री लगायतलाई सजिलै भेट्छन् ।

Published : Tuesday, 2019 March 19, 1:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया