मुख्यमन्त्री शंकर पोखरेलले पत्नीको जन्मोत्सव धुमधामले मनाए

बुटवल । दाङ जिल्लामा आफ्नै घर रहेको निर्वाचन क्षेत्रमा पराजित हुने डरले अर्को निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा प्रतिस्पर्धा गरी प्रदेश ५ को मुख्यमन्त्री बनेका शंकर पोखरेलले निर्वाचनमा गरिएका मुद्धालाई भुल्दै गएको आरोप लागेका बेला पत्नीको जन्मोत्सव धुमधामका साथ मनाएका छन् ।

निर्वाचनका बेला पोखरेलले दाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए । आफूलाई जिताएर पठाए प्रदेश ५ को राजधानी कुनै पनि हालतमा दाङलाई बनाउने उनको भाषण अहिले पनि युट्युब र गुगलमा हेर्न र पढ्न पाइन्छ ।

मुख्यमन्त्री बनेपछि पूर्वएमाले पृष्ठभूमि भएका पोखरेलले एक वर्ष कटाइसक्दा पनि प्रदेश ५ को राजधानी र नामको विषयमा सिन्को पनि भाँच्न सकेका छैनन् ।

आफूले निर्वाचनमा गरेको प्रतिवद्धताबाट भाग्न मुख्यमन्त्री पोखरेलले राजधानी र प्रदेशको नामका लागि कार्यदल बनाएका छन् । पोखरेलले त्यो कार्यदललाई जिल्ला घुमाएका छन् ।

तर, प्रदेश ५ को राजधानी र प्रदेशको नाममा आलटाल गरिरहेका छन् ।

पोखरेलले यो विषयलाई प्रदेश संसदमा प्रवेश गराएका छैनन् । प्रदेश सभामा प्रवेश पाउनेवित्तिकै पोखरेलको पराजय पक्का हुनेछ ।

मुख्यमन्त्री पोखरेलले बरु नेपाली कांग्रेसलाई राजधानी र प्रदेशको नामाकरणमा कांग्रेसलाई दोषारोपण गर्दै आएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय मुख्यमन्त्री पोखरेलले बुटवलस्थित आफ्नो सरकारी निवासमा एक हप्ता अगाडि १३ मार्चमा धुमधामसँग पत्नी सुजिता शाक्यको जन्मोत्सव मनाएका छन् । सरकारी क्वाटरमा महँगा केक र खानाका परिकारसहित पोखरेलले पत्नी शाक्यको जन्मोत्सव मनाएका हुन् ।

जन्मोत्सवमा सहभागी एकजना नेकपाका कार्यकर्ताका अनुसार मीठामीठा खाने परिकारहरू पनि राखिएका थिए । सीमित आफन्त र विश्वासिला कार्यकर्ताहरूलाई मात्रै जन्मोत्सवमा प्रवेश दिइएको थियो ।

पूर्वएमाले पृष्ठभूमि भएकी शाक्य प्रतिनिधि सभामा समानुपातिकबाट सांसद छिन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेकपामा उनीहरू प्रभावशाली नेताहरू रुपमा समेत चिनिन्छन् ।

शाक्यले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो जन्मदिनलाई अविस्मरणीय बनाई दिनुभएकोमा सबैप्रति आभारसहित धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ उनले जन्मोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गरेकी छिन् ।

‘यस्तै प्रेरणाहरू सुखी, खुशी र समृद्ध नेपाली बनाउने अभियानका लागि उर्जा बन्नेछन्’, शाक्यले लेखेकी छिन् ।

मुख्यमन्त्री पोखरेलकी पत्नी शाक्यले आफूले जन्मोत्सव मनाउँदा पाउँदा समृद्ध नेपाली बन्ने बताएकी छिन् । उनको स्टाटसले त्यही संकेत गरेको छ ।

हुन त मुख्यमन्त्री पोखरेल पनि के कम । उनले पनि आफ्नी पत्नीलाई सामाजिक सञ्जालबाट जन्मदिनको बधाइ र शुभकामना दिएका छन् ।

जन्मोत्सव मनाउनेमा पोखरेलकी पत्नी शाक्य एक्ली नेतृ होइनन् । प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल पनि जन्मोत्सव मनाउनेमा अग्रस्थानमा छन् ।

कम्युनिस्टहरूले दुई तिहाइ बहुमत पाएका बेला नेकपाका नेताहरूबाट जन्मोत्सव मनाउन देखाइएको हानथापबाट कार्यकर्ताहरू बेखुसी छन् ।

कम्युनिस्ट नेताहरूमा जन्मोत्सव मनाउने रहर पलाएकोमा धेरैले आश्चर्य व्यक्त गर्दै आएका छन् । (तस्वीर फेसबुकबाट साभार)

 

Published : Monday, 2019 March 18, 10:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया