बुढानिलकण्ठमा कांग्रेसका ठूला नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेता, पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग सोमबार छलफल गरेका हुन् ।

बैठकमा सोमबार बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने एजेन्डामा पूर्वसहमति खोज्ने प्रयास भएको थियो ।

सभापति देउवा समूहले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको भावनाविपरीत विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा राखेपछि कांग्रेसभित्र विवाद छ ।

अनुशासन समिति, निर्वाचन समिति गठन तथा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका एजेन्डा पनि कांग्रेसभित्र विवादित छ ।

सोमबार बस्ने बैठकमा यी एजेन्डामाथि छलफल हुने भएकोले सहमतिकै आधारमा अघि बढ्न सभापति देउवाले बैठक राखेका हुन् ।

बहुमतीय आधारमा नभइ सर्वसम्मत रुपमा अघि बढ्नु पर्नेमा नेताहरूले धारणा राखे पनि विषयगत रुपमा भने विवाद टुंग्याउने काम बैठकले गर्न नसकेको पौडेल समूहका एक नेताको भनाइ छ ।

अनुशासन समितिमा पौडेल समूहबाट दुई जना र सिटौला समूहबाट एक जना सदस्य हुनुपर्ने नेताहरुले अडान राखेका छन् ।

सभापति देउवा समूहले आफू अल्पमतमा हुने गरी अनुशासन समिति गठन गर्न मानेको छैन ।

देउवा समूहले पौडेल र सिटौलाले मागे अनुसार सदस्य दिन नसकिने बताउने गरेका छन् ।

गुट, उपगुटमा विभाजित भएका कारण पार्टी्भित्रका मुद्दालाई किनारा लगाउन कांग्रेस नेतृत्वलाई सकस छ ।

नेतृत्वविहीन रहेको नेविसंघबारे पनि पार्टीले निर्णय लिन सकेको छैन ।

नेविसंघको १२ औं महाधिवेशन गराउनका लागि तदर्थ समिति गठन गर्नुपर्ने भए पनि नेविसंघ विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्ने वा नगर्ने भन्नेमा नेताहरु विभाजित छन् ।

सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि पुनः शीर्ष नेताबीच छलफल गरी समस्याको समाधान खोज्ने कांग्रेसले जनाएको छ ।

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा नेता सिटौला उपस्थित रहेका थिएनन् । उनी गृहजिल्ला झापमा रहेका कारण नआएको जनाइएको छ ।

Published : Sunday, 2019 March 17, 10:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया