करातेको विश्व च्याम्पियनसिपमा दिगम्बरलाई रजत

काठमाडौं । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए ।

यद्यपि नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।

यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।

यता ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । उनले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन् ।

त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए । क्वार्टफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरे ।

सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए ।

नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो । यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो ।

यसअघि व्यक्तिगत कातामा नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा मेक्सिकोका खेलाडीसँग ४–१ ले पराजित भएका थिए ।

यस्तै गणेशबहादुर थिङ पनि सफल हुन सकेनन् । ६७ केजी तौलमा नेपालका अनिस लामा पहिलो खेलमै पराजित भएका थिए ।

नेपाली टिमको प्रशिक्षकमा सागका स्वर्ण विजेता कुशल श्रेष्ठ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिग्रेड्सको रुपमा जापान गएका थिए ।

जापानमा भएको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए ग्लोबल र जापान च्याप्टरले सहयोग गरेका छन् ।

प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले भाग लिएका छन् ।

भाग लिएका ५ खेलाडी मध्ये २ जनाले मेडल जित्नु उत्कृष्ट नजिता रहेको गुरुङले बताएका छन् ।

सन् २०२० मा जापानमै हुने ओलम्पिक्समा पहिलो पटक करातेमा प्रतिस्पर्धा हुँदैछ ।

Published : Sunday, 2019 March 17, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया