आर्मीका विमला, पुनम र आशिष बक्सिङमा छनोट

काठमाडौं । नेपाल आर्मीका चार खेलाडी विमला श्रेष्ठ, पुनम रावल, आशिष दवाडी र सुशील थापा एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने पक्का भएका छन् ।

शनिवार भएको महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राइलाई ४–१ ले अंकका अधारमा पराजित गरिन् । महिला ६० केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी संगीता सुनारलाई ४–१ ले अंकका आधारमा हराउँदै छनोट भइन् ।

राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्डहमा भएको ९१ केजीमाथिको तौल समूहमा आर्मीकै आशिष दवाडीले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेण्डमै नकाउट पन्च हान्दै छनोट भए ।

शुक्रवार ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशिल थापाले प्रदेश ३ का मदन डंगोललाई ५–० ले अंकका आधारमा हराउँदै छनोट भएका थिए ।

थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुने प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले हौसला प्रदान गर्दै भने, ‘राज्यको नेतृत्व गर्ने अवसर पाउनु भएको छ, कडा मेहनत गरेर आफुलाई तयारी बनाउनु होला । तपाईहरुको प्रशिक्षणका लागि नेपाल बक्सिङ संघले आवश्यक सहयोग गर्नेछ ।’

Published : Saturday, 2019 March 16, 10:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया