सडक दौडमा अजित र राजपुरालाई स्वर्ण

काठमाडौं । एपीएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् ।

अजितले निर्धारित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । सन्तोषविक्रम विष्ट ९१५ मिनेट ५९.८ सेकेन्ड (दोश्रो तथा खिमबहादुर खत्री ९१६ मिनेट ३७.९ सेकेन्ड) तेश्रो भए ।

राजपुराले दौड पूरा गर्न १८ मिनेट १७ सेकेन्ड समय निकालिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ (१८ मिनेट २३.७ सेकेन्ड)ले रजत तथा एपीएफकी फुलमति रानाले  (१९ मिनेट २१.१ सेकेन्ड)ले कांस्य जिते ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कांस्य हात पारे ।

दुवै स्पर्धाका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । दौड लैनचौरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक एकेडेमीका महासचिव वचन देउजा, प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्व धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो ।

सदस्य–सचिव विष्टले दुवैलाई समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरे । करातेका पर्शुराम बाँस्तोला, दीपक श्रेष्ठ र महेश रन्जित, डा.खगेन्द्रबहादुर श्रेष्ठ, फुटबलका मुकेश शाही र अन्जित बस्नेत, तेक्वान्दोका विधान लामा, भेट्रान धावक रामकृष्ण महर्जन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Published : Saturday, 2019 March 2, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया