अमेरिकामा लस्ट डचम्याच दौड प्रतियोगितामा ललितपुरका सिंहलाई पदक

अमेरिका । अमेरिकाको एरिजोना राज्यमा हालै सम्पन्न ‘लस्ट डचम्यान’ दौड प्रतियोगितामा ललितपुरका दर्शन सिंहले पदक जितेका छन् । उनले १० किलोमिटर दुरीको दौड प्रतियोगितामा दोस्रो हुँदै पदक जितेका हुन् ।

सिंहले निर्धारित दुरी पूरा गर्न ४४ मिनेट २३ सेकेण्डको समय खर्चिएका थिए । १० किलोमिटर दुरीको प्रतियोगितामा उनको यो पहिलो सहभागिता हो ।

सन् २००७ मा अमेरिका पुगेका उनले सन् २०१४ बाट औपचारिकरुपमा दौडिन सुरु गरेका हुन् । ४ वर्ष अवधिमा अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने प्रतियोगितामा सहभागी भई ३ हजार ८ सय ५० किलोमिटर दुरी पार गरिसकेका छन् ।

यसअघि सन् २०१९ को जनवरी २० मा ‘रक एण्ड रोल म्याराथुन’ पनि उनी सहभागी भएका थिए । यो म्याराथुन दौडमा सिंहले २ हजार ७ जना सहभागीमध्ये २ सय १५औं स्थानमा रहेर दुरी पूरा गरेका थिए । जनवरीमै ‘फोनिक्स नेसा’ म्याराथुनमा सहभागी भई निर्धारित दुरी पूरा गरेका थिए ।

४ वर्ष अवधिमा उनले ८ म्याराथुन (४२ किलोमिटर), २२ हाफ म्याराथुन (२१ किलोमिटर) १० किलोमिटर दुरीको एउटा र ५ किलोमिटर दुरीका १५ दौड प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

म्याराथुनमा ३ घन्टा १८ मिनेट ४९ सेकेन्ड र हाफ म्याराथुनमा १ घन्टा ३१ मिनेट ५३ सेकेन्ड उनको अहिलेसम्मको वेष्ट टाइमिङ रहेको छ । १० किलोमिटरका लागि ४४ मिनेट २३ सेकेन्ड र ५ किलोमिटरका लागि १९ मिनेट ५३ सेकेण्ड उनले अहिलेसम्म खर्चिएको सबैभन्दा थोरै समय हो ।

आगामी मार्च २४ मा क्यालिफोर्नियामा आयोजना हुने एलए म्याराथुन र अप्रिल २७ मा आयोजना हुने टेनिसी म्याराथुन र जुनमा हुने तय भएको युटा म्याराथुनमा पनि सहभागिता जनाउने तयारी उनले गरिरहेका छन् ।

नेपालमा रहँदा विद्यालय स्तरको दौड प्रतियोगितामा सहभागी हुने गरेकाले अमेरिका पुगेर समेत यसलाई निरन्तरता दिएको उनी बताउँछन् ।

‘नेपालमा पनि लामो दुरीका दौड प्रतियोगिता हुन थालेका छन् । यो खुशीको कुरा हो । ,’ उनले टेलिफोनमा भने, ‘प्रतियोगिता अवधिभर सार्वजनिक सवारी साधनको आवागमन रोक्न सकेमा म्याराथुन दौडलाई अझै स्तरिय बनाउन सकिने थियो ।

हिउँदको केही महिनाबाहेक अन्य समयमा दैनिक २ घन्टा उनी अभ्यास गर्छन् । भविश्यमा नेपालमा आएर ‘एभरेष्ट म्याराथुन’ मा सहभागिता जनाउने उनले इच्छा व्यक्त गरेका छन् ।

 

 

Published : Friday, 2019 February 22, 12:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया