कायक एन्ड र्‍याफ्टिङ क्लबलाई राष्ट्रिय र्‍याफ्टिङ्गको उपाधि

काठमाडौं । नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ ।

र्‍याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो ।

चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो ।

नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ ले स्प्रीन्ट (१०० पूर्णाङ्क), हेड टु हेड (२०० पूर्णाङ्क), स्लालोम (३०० पूर्णाङ्क) र डाउन रिभर(४०० पूर्णाङ्क) मा शतप्रतिशत अंकका साथ कुल १००० हजार अंक प्राप्त गरेको हो ।

च्याम्पियन टिमले अन्तिम दिन भएको स्लालोम र डाउन रिभर पनि उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत नतिजा निकाल्यो । ओभरलमा उपविजेता भएको प्याडल नेपाल ‘बी’ ले ८ सय ४ अंक प्राप्त गर्‍यो ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजना तथा पर्वतिय खेलकुद महासंघ अन्तरगत भएको च्याम्पियनसिपमा प्याडल नेपालले स्प्रीन्टमा ८८ अंक र हेड टु हेडमा १ सय ७६ अंक प्राप्त गरेको थियो ।

बिहीबारको दुई विधामा प्याडल नेपालले स्लालोममा २ सय ६४ र डाउन रिभरमा २ सय ७६ अंक हासिल गर्दै दोस्रो स्थानमा उभ्याएको हो ।

त्यस्तै तेस्रो भएको नेपाल कायक क्लबले समग्र चार विधामा ८ सय ८७ अंक प्राप्त गरेको थियो । अन्तिम दिनको दुई विधा स्लालोममा २ सय ३७ अंक र डाउन रिभरमा ३ सय ५२ अंक प्राप्त गरेको थियो ।

नेपाल कायक क्लबले यसअघि बुधबारको स्प्रीन्टमा ७२ अंक र हेड टु हेडमा १ सय २६ अंक जितेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगिताका विजेतालाई इच्छा कामना गाउँपालीकाकी अध्यक्ष गीता गुरुङ, पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई र आयोजक संघका अध्यक्ष मानबहादुर न्यौपाने लगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा एक विभागीयसहित कुल ११ टिमले प्रतिस्पर्धा गरेको संघका महासचिव एवं च्याम्पियनसिप जुरी सुदीप गौतमले जानकारी दिए ।

कुल ११ टिम रहेको र्‍याफ्टिङमा प्रत्येक टिममा ८ सदस्य खेलाडीको सहभागिता रहेको थियो । व्यक्तिगत विधाको कायकमा भने २८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Published : Thursday, 2019 February 21, 6:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया