कराते ध्वस्त बनाउन खोज्नेहरूलाई राखेपभित्रै पुगेर दिए सुध्रिन चेतावनी (तस्वीर)

काठमाडौं । दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघलाई विघटन गरेर कम्युनिस्ट सरकारले कराते खेललाई अस्तव्यस्त बनाउने तयारी गरेपछि विरोध शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषदको कार्यालय परिषरमा सोमबार जम्मा भएका सयौँको संख्याका प्रशिक्षक, रेफ्री, खेलाडीहरूले कम्युनिस्ट सरकारको हस्तक्षेपकारी कार्यको विरोध गरेका हुन् । उनीहरूले व्यक्तिगत स्वार्थका लागि कराते खेललाई धरासायी बनाउन राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

व्यक्तिगत स्वार्थका लागि कराते महासंघलाई तहस नहस बनाउने कम्युनिस्ट सरकारको योजनालाई कदापि पूरा हुन नदिने उनीहरूले चेतावनी दिएका छन् ।

नेपाल करोत महासंघका अध्यक्ष दावा गुरुङले आफ कराते खेल, खेलाडी, रेफ्री र प्रशिक्षकहरूका लागि जुनसुकै कदम उठाउन तयार रहेको बताए ।

‘मेरो नेतृत्वको नेपाल कराते महासंघलाई राष्ट्रिय खेलकुद परिषदले प्रमाणपत्र दिएर मान्यता दिएको छ’, अधयक्ष गुरुङले भने, ‘व्यक्तिगत स्वार्थका लागि कसैले पनि महासंघलाई बदनाम गर्नु हुँदैन ।’

अध्यक्ष गुरुङले आफू र आफ्नो टिम ऐन कानूनको पक्षमा रहेको भन्दै आवश्यक प¥यो भने नियम र कानून तोड्न पनि बाध्य हुने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले राष्ट्रिय खेलकुद परिषदको नेतृत्वमा पुगे भन्दैमा कसैले पनि आफ्नो धरातल भुल्न नहुने बताए ।

‘राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघलाई विघटन गरेर आफ्नो मान्छेलाई अध्यक्ष बनाउन लागेको थाहा पाएका छौँ । त्यो कदापि हुन दिँदैनौँ’, उनले भने, ‘दावा गुरुङले अधिवेशन गर्न पाउनुपर्छ । कसैलाई अध्यक्षको इच्छा लागेको छ मैदान खाली छ । आएर प्रतिस्पर्धा गरेर अध्यक्ष बन्न चुनौती दिन्छु ।’

राष्ट्रिय खेलकुद परिषदमा रहेका केही खराब व्यक्तिहरूका कारण कराते खेलको विकासमा अवरोध भएको महर्जनको भनाइ थियो । ‘पुरेन्द्र लाखे जस्तो ९ वर्षसम्म जापानमा लुकेर बसेर नेपाल आई कराते खेलको बदनाम गरेका छन्’, उनले भने, ‘यस्ता धुन्दुकारीहरूलाई करातेका खेलाडीहरूले चिनेका छन् ।’

देव लामा, शोभितराज प्रसाइँ, राजेश अधिकारी, प्रकाश धौभडेल, आनन्द लामा, महेश नेवा, नारायण मगर, ज्ञानेबहादुर जिम्बासहितका खेलाडी, प्रशिक्षक, रेफ्रीहरूले कराते खेलको संरक्षणका लागि आफूहरू सक्रिय रहने बताए । उनीहरूले कसैले कराते खेललाई ध्वस्त बनाउन खोज्यो भने चुप लागेर नबस्ने चेतावनी दिए ।

पहिलो चरणमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनालाई सुध्रिन मौका दिएको बताएका उनीहरू आवश्यक प¥यो भने जे पनि हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूले छिटोभन्दा छिटो नेपाल कराते महासंघको निर्वाचनको मिति तोक्न पनि माग गरेका छन् ।

नेपाल कराते महासंघको अध्यक्षमा नेकपाका सांसद बसन्त नेम्वाङले आँखा लगाएका छन् । सांसद नेम्वाङले कराते महासंघमा प्रवेश गरेर हालीमुहाली गर्ने योजना बनाएको खेलाडीहरूले आरोप लगाएका छन् ।

Published : Monday, 2019 February 11, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया