दमदार निस्कियो मेची नेत्रालय, पाहुना टोली क्यामरुन पराजित

इटहरी । सुनसरीको इटहरी रंगशालामा शनिबार शुरु भएको मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा मेची नेत्रालय झापाले पाहुना टोली दाउफेन्स क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ ।

जितसँगै मेची नेत्रालय सेमिफाइनलमा पुगेको छ । निर्धाति ८० मिनेटको खेलभर दुवैले गोलरहित बराबरी खेले । झापाका गोलरक्षक दीप कार्कीको कुशलताले झापाले जित प्राप्त ग¥यो ।

उनले एक गोल गर्नुका साथै विपक्षी टोलीका जो एन्गोला र अरमेल आहान्डाको पेनाल्टी रोकेका थिए । उनी म्यान अफ द म्याच घोषित भए । क्यामरुनका गोलरक्षक मौहा माडउले झापाका भूषण लिम्बुको पेनाल्टीमात्र रोक्न सके ।

अग्ला क्यामरुनी खेलाडीका कारण सुरुबाटै निकै दबाबमा परेको झापाले आफ्नो रक्षापंक्तिलाई निकै बलियो पार्दा अपेक्षाकृत नतिजा निकाल्न सकेन । दुवै टोलीले पोस्टमा राम्रा अवसर बनाए पनि फिनिसिङ नहुँदा निर्धाति समयमा गोल निस्केन ।

क्यामरुनका अरमेलले पेनाल्टी बक्सअगाडि पाएको बल प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरियो ।

३० यार्ड टाढाबाट निआले गरेको प्रहार पनि सदुपयोग भएन । उनको फितलो प्रहार झापाका गोलरक्षक दीपले बचाए । दीपले आफ्ना खेलाडीतिर फालेको बल क्यामरुनका नजमाले भेटाए ।

वान भर्सेज वानको स्थितिमा उनले गोल गर्न सक्थे तर उनी आत्तिए । उनको प्रहार पोस्टको बायाँतिरबाट बाहिरियो । झापाले पाएका सुन्दर अवसर पनि सदुयोग गर्न सकेन ।

खेलकुदमन्त्री जगतबहादुर सुनारले उदघाटन गरेको गोल्डकपमा आइतबार आयोजक राष्ट्रिय जागृति क्लब र लिग विजेता मनाङ मर्स्याङदीबीच प्रतिस्पर्धा हुनेछ ।

दुई विदेशीसहित प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक कोवितजंग बस्नेतले जानकारी दिएका छन् ।

शनिबार भएको खेलका म्यान अफ द म्याच खेलाडीलाई तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडी एवम् अन्तर्राष्ट्रिय कोच राम गिरीले पुरस्कार प्रदान गरेका थिए । गिरी युवा व्यवसायी पनि हुन् ।

यसपालि पुरस्कार राशिमा वृद्धि गरेर विजेतालाई १६ लाख र अढाई तोला सुनको मदन भण्डारीको प्रतिमा र ६८ तोला चाँदीको ट्रफी प्रदान गरिने छ । उपविजेताले ८ लाख रुपैयाँ पाउनेछ ।

हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार तथा विधागत उत्कृष्टलाई जनही २० हजार प्रदान गरिने छ । सर्वाेत्कृष्ट खेलाडीले ३० हजार र ४२ इन्चको एलईडी टिभी तथा सर्वाधिक गोलकर्ताले ३० रुपैयाँ पाउनेछन् ।

Published : Sunday, 2019 January 27, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया