ललितपुरमा गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । ललितपुर किक बक्सिङ संघले ललितपुरमा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता पुसको पहिलो हप्ता हुने भएको छ ।

ललितपुर किक बक्सिङ संघले काठमाडौंको त्रिपुरेश्वरमा शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुसको ५, ६ र ७ गते गोदावरी नगरपालिकाको वडा नं. ११ को प्याङ्गाउँ चौरमा गर्ने कार्यक्रम संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

‘किक बक्सिङ प्रतियोगिताका लागि सबैलाई पत्र पठाएका छौं’, संयोजक महर्जनले भने, ‘टिम च्याम्पियनले पचास हजार नगदसहितको पदक पाउनेछन् ।’

अनुमानित ३० लाख खर्च हुने प्रतियोगिताका विजेता खेलाडीलाई धेरै राशिको पुरस्कार र पदक प्रदान गरिनेछ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीहरु पनि सहभागित हुनेछन् ।

पुरुष तौल समूहमा ५०, ५५, ६०, ६५ र ७० केजीमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा खुल्ला तौल समूहका खेलाडी पनि सहभागी हुनेछन् । महिला तौल समूहमा ५० केजीमुनि र ६० केजीमाथि पनि प्रतिस्पर्धा हुनेछ ।

किक बक्सिङ प्रतियोगिता विश्व किक बक्सिङको नियमअनुसार खेलाइने अध्यक्ष विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीको तौल पुसको ३ र ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्नेछ । प्रत्येक खेलाडीले आफ्नै झण्डा अनिवार्य रुपमा लिएर आउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु २० हजार, द्धितीयलाई दश हजार र तृतीय हुने दुईजना खेलाडीले पाँच पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई १५ १५ हजार नगद प्रदान गरिनेछ ।

सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिम च्याम्पियन स्वरुप ५० हजार, द्धितीय हुने टिमलाई २५ हजार र तृतीय टिम च्याम्पियनलाई १२ हजार ५ सय नगदसहित पुरस्कार दिइनेछ । सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था रहको अध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् भने समापन कार्यक्रममा प्रभावशाली नेता प्रकाशमान सिंह सहभागी हुनेछन् ।

Published : Friday, 2018 December 7, 3:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया