कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध जनताको पक्षमा उभिए गगन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कम्युनिस्ट सरकारद्वारा सवारी साधनमा लागू गरेको जोर विजार प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।

कांग्रेसका नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको बताएका छन् ।

‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ’, उनले भनेका छन्, ‘तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’

कार्यक्रमका लागि भन्दै कम्युनिस्ट सरकारले राजधानी उपत्यकाभित्र बिहीबारदेखि जोर र विजोर नम्बरका गाडी मात्रै चलाउनुपर्ने उर्दी जारी गरेपछि कांग्रेसका युवा नेता थापाले सो निर्णयको विरोध गर्दै आवज्ञा गर्न आह्वान गरेका हुन् ।

युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमको नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । एकनाथ ढकाल नेतृत्वको युनिभर्सल पिस फेडरेसनले क्रिश्चियन धर्मका लागि कार्य गर्दै आएको आरोप छ ।

नेपाली कांग्रेसले क्रिश्चियन धर्मको प्रचारका लागि हुन थालेको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक राखेको भनेर विरोध गर्दै पत्रकार सम्मेलन समेत गरेको थियो ।

Published : Thursday, 2018 November 29, 7:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया