कांग्रेसमाथि गाउँका कार्यकर्ताको होल्ड वर्षैभरि रहने, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेस आफूलाई सुधार गरेर लैजाने योजनाका साथ अगाडि बढेको छ । कांग्रेसले एक वर्ष अगाडि भन्दा आफूलाई अहिले धेरै रुपमा सुधार गरेको छ । पार्टीभित्रै पनि रचनात्मक आलोचना भैरहेका छन् ।

यसले संगठन सुदृढीकरणमा सहयोग मिल्ने कांग्रेस नेताहरुको भनाई छ । नयाँ विधान आउने वित्तिकै नेपाली कांग्रेसभित्र उर्जा थपिने बुझिएको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूका अनुसार केन्द्रीय कार्यसमितिमा पेस भएको विधानले धेरै कुराहरू कार्यकर्ता र पार्टीको हितमा राखिएको छ । नयाँ व्यवस्था राम्रोसँग कार्यान्वयन भयो भने नेपाली कांग्रेसलाई लाग्दै आएको मासवेस पार्टीको अरोप समाप्त हुने उनको भनाई छ ।

कांग्रेसले ल्याएको नयाँ व्यवस्थाअनुसार क्रियाशील सदस्यता वितरणको अधिकार स्थानीय तह र जिल्लाले पाएको छ । स्थानीय तहमा हुने सिफारिसका आधारमा क्षेत्र हुँदै जिल्लाले दिनेछ । पहिलो वर्ष साधारण सदस्यता दिइने छ भने दोस्रो वर्ष साधारण सदस्यता लिएको व्यक्तिले कांग्रेसमा कति समय दिएको छ भनेर मूल्यांकनका आधारमा नवीकरण गरिने छ ।

त्यसकै आधारमा सक्रिय सदस्यता दिइने छ । अन्यथा सक्रिय सदस्यता दिइने छैन । केन्द्रबाट सक्रिय सदस्यता वितरण गर्दा आउने विवाद अब धेरै हदसम्म कम हुनेछ ।

कांग्रेसले चार वर्षसम्म क्रियाशील गराउने गरेर विधान तयार पारेको छ । पहिलो वर्ष गाउँ, स्थानीय तहदेखि जिल्लामा अधिवेशन हुनेछ । दोस्रो वर्ष प्रदेश र केन्द्रका लागि प्रतिनिधि चयन गर्ने काम हुनेछ । तेस्रो वर्ष प्रदेश समितिको अधिवेशन हुनेछ ।

चौथो वर्ष केन्द्रीय महाधिवेशन गरिनेछ । यो व्यवस्था लागू भयो भने महाधिवेशनका बेला मात्रै सक्रिय हुने कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई वर्षैभरि पार्टीमा काम पाउनेछन् । कांग्रेसको संगठन पनि राम्रो बन्नेछ ।

कांग्रेसले टिकट वितरण गर्ने व्यवस्थालाई पनि विकेन्द्रीकरण गरेको छ । सदस्य र वडाध्यक्षको टिकट जिल्लाले दिनेछ । नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट प्रदेश कमिटीले दिनेछ । त्यसका लागि प्रत्येक पदमा ३ जनाका दरले सर्वसम्मत वा बहुमतबाट सिफारिस गरेर पठाउनु पर्नेछ ।

पार्टीको हति विपरित र उम्मेदवार हराउन बागी बन्नेहरूलाई प्रदेश क्षेत्रले निलम्बन गर्न जिल्लालाई सिफारिस गर्नेछ । जिल्लाले नै तत्काल त्यस्ता विद्रोही र बागीलाई कारबाही गर्नेछ । कारबाहीमा परेकाहरूले प्रदेश हुँदै केन्द्रसम्म पुनरावेदन गर्न पाउनेछन् । कांग्रेसले कार्यकर्तालाई प्रशिक्षण दिन उपाध्यक्षको नेतृत्वमा समिति बनाउने प्रस्ताव पनि गरेको नेता बडूले जानकारी दिए ।

कांग्रेसमा समावेशी अर्थात आरक्षणको विषयले भने खासै गति लिन सकेन । नयाँ विधान लागू भयो भने दुई कार्यकालका लागि आरक्षणमा रहने व्यवस्था गरिएको छ । यो व्यवस्थाले महिला, दलित, जनजाति, आदिवासी, अल्पसंख्यक, अपाङ्गहरूको नाममा हालीमुहाली गर्दै आएको समूह र नेताहरूलाई नै लाभ हुने भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मासहितका आरक्षणमा हालिमुहाली गर्दै आएका आरक्षित नेताहरूले अझै दुई कार्यकाल आफूहरूलाई पद सुरक्षित राख्दै विधानमा संशोधन हालेका छन् ।

Published : Thursday, 2018 November 29, 11:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया