मन जित्यो क्रोएसियाले, विश्वकपको उपाधि फ्रान्सलाई

मस्को । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सले उपाधि जिते पनि पहिलो पटक फाइनलमा प्रवेश पाएको क्रोएसियाले धेरै फुटबलप्रेमको मन जितेको छ ।

आइतबार राति रुसको राजधानी मस्कोमा सम्पन्न विश्वकप फुटबलको २१औं सस्करणको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराएको हो । फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको छ ।

मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा फ्रान्सका सुरुका दुई खेलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा थियो ।

फ्रान्सका एन्टोइन ग्रिजम्यान,पल पोग्बा र केइलिन एमबाप्पेले एक–एक गोल गरे । क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरे ।

मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो । पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो । पहिलो हाफमा २–१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो ।

मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । एन्टोइन ग्रिजम्यानको फ्रि किक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो ।

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो । पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो ।

फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो । पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका ग्रिजम्यानले गोल गरेका हुन् । प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो । पोग्बाले ५९ औं मिनेटमा गोल गरे । रिबाउन्ड भएको आफ्नै प्रहारमा उनले गोल गरेका थिए। ६५ औं मिनेटमा एमबाप्पेले गोल गरेका हुन् ।

प्रतियोगितामा एमबाप्पेको यो चौथो गोल हो । फ्रान्सका गोलरक्षक ह्युगो लोरिसको गल्तीमा क्रोएसियाले ६९ औं मिनेटमा गोल थपेको थियो । ब्याक पास भएको बललाई लोरिसले समयमै क्लियर गर्न नसक्दा मान्जुकिचले गोल गरेका थिए । विश्वकपको फाइनलमा सन् १९६६ पछि सबैभन्दा बढी गोल भएको हो ।

सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डले तत्कालीन पश्चिम जर्मनीलाई ४–२ गोलले हराएको थियो । खेल अतिरिक्त समयसम्म धकेलिएको थियो ।

फ्रान्सले यसअघि सन् १९९८ को पनि विश्वकप जितेको थियो । फ्रान्सको यो समग्रमा तेस्रो विश्वकप फाइनल भिडन्त थियो ।

२००६ को विश्वकपमा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको फ्रान्स दुई वर्षअघि घरेलु मैदानमै आयोजित युरोकपमा फाइनलसम्म पुगेको थियो । क्रोएसिया भने पहिलोपटक विश्वकपको फाइनल पुगेको हो । एजेन्सी

Published : Monday, 2018 July 16, 7:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया