प्रचण्डका घरबेटी अधिकारीलाई कारबाही, जोगाउन सकिएन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना घरबेटी शारदाप्रसाद अधिकारीलाई सरकारी दण्ड सजाय भएको छ ।

भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण आयोजनाको ठेक्का लिएका अधिकारीले सम्झौता अनुसार काम नगरेपछि कारबाहीमा परेका हुन् । प्रचण्डे अधिकारीलाई कारबाहीमुक्त गराउन खोजेपनि स्थानीयको विरोधपछि कारबाही भएको हो ।

तोकिएको समयासीमाभित्र निर्माण कार्य सम्पन्न नगरेका शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक अधिकारीलाई सरकारले जरीवाना तिराएर एक महिनाभित्र निर्माण सक्न निर्देशन दिएपछि दाहालको सोर्सफोर्स व्यर्थै भएको छ ।

खुमलटारस्थित दाहाल निवासका मालिक अधिकारीको कन्स्ट्रक्सन कम्पनीले भक्तपुरको कमलबिनायक–नगरकोट सडक निर्माणको जिम्मा पाएको थियो । पूर्वनिर्धारित समयमा काम सम्पन्न नगरेपछि गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अधिकारीलाई जरीवाना तिराएको थियो ।

अधिकारीलाई योजनाको कुल रकमको ०.०५ प्रतिशतका दरले दैनिक १ लाख ५० हजार रूपैयाँ जरिवाना तिर्ने सर्तमा काम सम्पन्न गर्न सहमति दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार, असारको अन्तिम सातामा आएर ठेकेदार अधिकारीको कम्पनीले उक्त सडक निर्माण कार्यमा विलम्ब गरेवापत एकमुष्ट ७ लाख रुपैयाँ सरकारलाई जरीवाना बुझाएपछि मन्त्रालयले दैनिक १ लाख ५० हजार जरिवाना बुझाउने गरी एक महिनाको समयसीमा दिएको छ ।

सरकारले जरिवानासहित समय थप गरेपछि अहिले उक्त कम्पनीले निर्माण कार्य सुरू गर्न थालेको छ । भारतको एक्जिम बैठकको सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको उक्त परियोजनाको कुल लागत करिब ३० करोड रुपैयाँ छ ।

अब एक महिनाभित्र काम सम्पन्न गरेमा अब उक्त कम्पनीले सरकारलाई ४५ लाख रूपैयाँ जरीवाना बुझाउनु पर्नेछ ।

गृहमन्त्री रामबहादुर थापाले भौतिक पूर्वाधार विकास आयोजनाहरू समयमा सम्पन्न नगर्ने ठेकेदार तथा उनीहरूका निर्माण कम्पनीमाथि कारबाहीको धम्की दिएलगत्तै अधिकारीले दाहालसमक्ष गृहमन्त्री थापाविरुद्ध गुनासो गरेका थिए ।

अधिकारीको गुनासोपछि अध्यक्ष दाहालले गृहमन्त्री थापालाई बोलाएर निर्माण व्यवसायीहरुलाई अनावश्यक ढंगले धम्क्याएर तनाव नदिन दवाव दिएको स्रोतको दाबी छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले जेठ २३ गते अधिकारीको उक्त कम्पनीसहित ६ वटा कम्पनीले भक्तपुरका ९ वटा सडक आयोजना समयमा सम्पन्न नगरेको भन्दै गृह मन्त्रालयमा निर्माण कम्पनीको नाम तथा उनीहरुले अधुरो राखेका निर्माण आयोजनाको विवरणसहितको रिपोर्ट बुझाएको थियो ।

पूर्वनिर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमा सूर्यविनायक ७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरले लिएका तीन आयोजना अधुरा थिए ।

रानाको नाममा रहेको लोहनी एण्ड ब्रदर्श लालीगुराँस निर्माण सेवा जभीले चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क–भत्केपाटी सडक आयोजना र पेप्सीकोला–सल्लाघारी, भक्तपुर–नगरकोट, व्यासी(सल्लाघारी दरबार स्क्वायर सडक आयोजन समयमा सम्पन्न नगरेको विवरण गृहमा पुगेको थियो ।

भीमसेन भण्डारीको सुनौलो खिम्ती कन्स्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट–रमाइलो चोक चाइल्ड नेचर स्कूलसम्मको सडक र हनुमन्ते खेला–अरनिको राजमार्ग वप्पा पाटी विहार–बहाखाबजार सडक निर्माणको जिम्मा लिएर पनि दुई योजना अधुरा राखेको छ ।

धापाखेलका सञ्जीव शाहको शाह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा(लि)दुवाकोट स्वास्थ्यचौकी भवन निर्माण, मनोहरा पुल– इन्द्रायणी–साँखु सडक योजनाका लामा बिल्डर्स–साल्पा शेर्पा–जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो–बालकोट चोकअन्तर्गत वर्ल्डवाइड–विष्णु जेभी काठमाडौंका विष्णु लामा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको थियो ।

Published : Monday, 2018 July 16, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया