इलाम र बझाङमा किन ढल्यो कांग्रेस ? र, दुरदर्शी सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्र कमजोर बनाएर कब्जा गर्ने रणनीतिअनुसार गठबन्धनको विरोध गर्दै आएका पदाधिकारी र नेताहरूले इलाम २ र बझाङको प्रदेशसभा १ मा किन जिताउन सकेनन् भनेर प्रश्न उठेको छ ।

तत्कालीन समयमा कांग्रेसको अवस्था र परिवेश बुझेर देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवा)लाई साथमा लिएर कांग्रेसलाई ठूलो पार्टी बनाएका थिए । राजनीतिमा धेरै भोटोहरू फटाएका सभापति देउवाले बस्तुस्थिति राम्रोसँग बुझेका छन् ।

कुन समयमा कसरी अगाडि बढ्ने देउवालाई राम्रोसँग जानकारी छ । कांग्रेसले धेरै सिट जित्नुपर्छ भन्ने पहिलो मान्यतामा सभापति देउवा छन् । त्यो सिट गठबन्धन गरेर होस् वा संगठन गरेर हो जित्नैपर्छ ।

तर, देउवालाई कमजोर बनाएर पार्टी कब्जा गर्ने योजनामा रहेका केही नेताहरू अर्थात् महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका नेताहरूले किन उपनिर्वाचन पार्टीका उम्मेदवार जिताउन सकेनन् ? प्रश्न उठेको छ ।

पार्टीले टिकट दिएपछि यो वा त्यो बहानामा वा ‘कु’ तर्क गरेर हिँड्नु उचित होइन । टिकट नपाउँदासम्म टिकटका लागि सबैले जोडबल गर्ने हो । गर्नु पनि पर्छ । टिकट पाइसकेपछि पार्टीको उम्मेदवारलाई जिताउनुपर्छ । यहि नै हो राजनीति ।

गठबन्धनको विरोध गर्ने पदाधिकारी र नेताहरूले उपनिर्वाचनमा पराजय हुनुको चित्त बुझ्ने जवाफ दिन सक्छन् ? कांग्रेसमा संगठन गर्ने हो भने किन नगरेको ? कसले हात बाँधेर राखेको छ ? ‘नाच्न नजान्ने आँगन टेँडो’ भने जस्तो ।

गठबन्धनका कारण जितेको बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा कांग्रेसले आफ्नो सिट गुमाएको छ । कांग्रेसले लय समात्नै नसक्ने गरेर इलाम २ मा पछाडि परेको छ ।

गठनन्धन हुँदा र नहुँदामा के फरक पर्छ भन्ने कुरा इलाम २ र बुझाङ प्रदेशसभा १ को उपनिर्वाचनले देखाएको छ ।

पार्टीभित्रको गुट, उपगुट, सभापति देउवालाई भएको असहयोग लगायतका कुराले उपनिर्वाचनमा कांग्रेसको पराजय भएको छ । देउवा १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार दिँदैन भनेर घोषणा गरेका कारण पार्टीभित्र अराजकता मौलाएको हो कि भन्ने भान परेका छन् । यस्तै अवस्था रहने हो भने देउवालाई १५औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवार बन्न दवाव पर्ने सम्भावना छ । विधानले नदिए पनि बिकल्पहरू प्रशस्त हुन सक्छन् ।

मिसन ०८४ भन्ने महामन्त्रीद्वय गगन र विश्वप्रकाशहरूले उपनिर्वाचनमा किन जिताउन सकेनन् ? प्रचार प्रसारमा खटिएकै थिए । तैपनि उनीहरूलाई मतदाताले पत्याएनन् ।

गगन–विश्व र शेखरले नेतृत्व पाउँदा पनि हुनेवाला केही छैन । उनीहरू झन् पार्टीभित्र निरंकुश हुनेछन् ।

त्यस बेला कांग्रेसको हबिगती झन् खराब हुनेछ । मैले पाउँदा ठीक, अरुले पाउँदा बेठिक भन्ने परम्परा हाबी हुँदा कांग्रेसलाई क्षति भइरहेको छ ।

गगन–विश्व र शेखरको पछाडि हिँड्ने नेता, कार्यकर्ता तथा सहयोगीहरूका हर्कत पनि नेता कार्यकर्ताले राम्रोसँग जानेबुझेका छन् ।

यदि, गठबन्धन गरेर कांग्रेस चुनावमा गएको हुन्थ्यो भने इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा विजयी हात पर्ने थियो । गठबन्धनका कारण जितेको बझाङ कांग्रेसले गुमाउन पुगेको छ ।

इलाम २ मा गठबन्धन हुँदा झिनो मतअन्तरबाट पराजित भएको कांग्रेस उपनिर्वाचनमा मतअन्तरको खाडल पूरा गर्नै नसक्ने गरि पछाडि परेको छ । कांग्रेस र पहिचानवादीको नाममा जातीय राजनीति गर्नेहरूका उम्मेदवारबीच को निकटतम प्रतिस्पर्धी बन्ने भनेर लागेका छन् ।

महामन्त्रीद्वय गगन–विश्वले भनेको चल्ने थियो भने चितवन र तनहुँको उपनिर्वाचनका बेला नै हुने थियो । चितवनमा गगन कांग्रेसको कमाण्डर बनेर खटिएका थिए । तनहुँमा विश्वप्रकाश गएका थिए । चितवन र तनहुँमा कांग्रेसले पानी खान पनि पाएन ।

इलाम २ मा पनि कांग्रेसको हालत त्यस्तै रह्यो । महामन्त्री विश्वप्रकाश चुनावी प्रचारका लागि खटिएका थिए । विश्वको पनि लोकप्रियता खस्किदै गएको छ । गगनको पनि लोकप्रियता दिन प्रतिदिन खस्किएको छ ।

तर्क र ‘कु’तर्क यस्तो पनि रहन सक्छ । पार्टी सभापति देउवाले लोकप्रिय नरहेको नेतालाई टिकट दिएका कारण कांग्रेसका उम्मेदवार पराजित भएका हुन् भन्न सक्छन् । वा वंशमा गएर टिकट दिएको भन्न पनि सक्छन् । टिकट र नेता भन्ने प्राविधिक कुरा हो । सत्य भनेको कांग्रेसका नेताहरूको इमान्दारिता हो । इमान्दारिता, नैतिकता र विश्वास छैन भने जति नै राम्रो वा लोकप्रिय नेतालाई टिकट दिए पनि पराजित हुने सम्भावना रहन्छ ।

अघिल्लो चुनावमा जितेको बुझाङ किन पराजित भयो कांग्रेस ? इलाममा झिनो मतको अन्तर ह्वात्तै बढेर किन माथि पुग्यो ? यी र यस्ता प्रश्न प्रशस्त छन् ।

Published : Monday, 2024 April 29, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया