ओलीको चीन भ्रमण घुमघाममै सीमित, सेल्फीमा रमाए मन्त्रीहरू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा गर्ने भनिएका महतवपूर्ण भेटघाट र सम्झौता सम्पन्न भए पनि सोँचेअनुसारको भ्रमण हुन नसकेको भनेर आलोचना शुरु भएको छ ।

प्रधानमन्त्री ओली असार ५ गते १ सय ११ जनाको जम्बो टोली लिएर चीन भ्रमणमा निस्केका थिए । टोलीमा व्यवसायीहरूबाट ५२, मिडियाबाट ११, प्रधानमन्त्रीको अफिसियल टोली भनेर ४८ जना राखिएको थियो ।

चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीबाहेक अरुको मन्त्री र सदस्यहरूको खासै काम नदेखिएको टोलीमा रहेका पत्रकार ऋषि धमलाले बताएका छन् ।

निजी क्षेत्रका व्यवसायीहरूले अनुकूल मिलाएर चिनियाँ लगानी भित्र्याउन सफल भएका छन् । अपवाद बाहेक टोलीमा रहेका अन्य सदस्यहरूको कुनै उपलब्धी नदेखिएको हो ।

भ्रमण टोलीका चार जना मन्त्रीहरूसमेत चीनमा फुर्सदिला बनेका थिए । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भ्रमण दलमा थिए । नेपालको तयारी नपुगेर नेपाल–चीनबीच पारबहन सम्झौता पनि हुन सकेन ।

गृहमन्त्री थापाको भेटवार्ता खासै प्रभावकारी भएन । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण पनि आपचारिकता मात्रै सीमित देखिएको पत्रकार धमलाले बताए ।

अर्का मन्त्री महासेठले चीनका यातायातमन्त्रीलाई भेटेको बताइएको छ । त्यो भेटको पनि खासै उपलब्धि रहेन । उर्जामन्त्री पुनले भने नेपाल–चीनबीच भएको उर्जासम्बन्धी एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रीहरू नै फुर्सदिला देखिएको अवस्थामा अन्य सदस्यहरू घुम्नका लागि मात्रै चीन गएको भनेर आलोचना भएको छ ।

मन्त्री र सांसदहरू समूहिक तस्बिर खिचाउन र सेल्फी लिनमै व्यस्त देखिएका थिए ।

प्रधानमन्त्री ओलीसमेत भारत भ्रमणमा जस्तो व्यस्त भएनन् । भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता धेरै हुने गर्दथ्यो । तर, चीन भ्रमणमा ओलीलाई सीमित भेटवार्ताको मात्रै मौका दिइएको थियो ।

विदेश भ्रमण भन्नेवित्तिकै मन्त्रीदेखि पार्टीका नेता कार्यकर्ताको भिड लाग्ने गरेको छ । यसले राष्ट्रको ढुकुटी रित्याउनेबाहेक अरु खासै उपलब्धी देखिएन ।

अझ कतिपयले भ्रमणदल जम्बो बनाइएकोमा व्यङ्ग्य गर्दै चिनियाँ रेल बोकेर नेपाल ल्याउनका लागि धेरै जना लावालस्कर लागेर चीन गएको टिप्पणी गरेका थिए ।

Published : Saturday, 2018 June 23, 6:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया