सबै मिलेर कांग्रेसलाई एक नम्बर पार्टी बनाउने हाे : शेरबहादुर देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार जिल्ला सभापतिहरूको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धता जनाए ।

‘कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ । बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ । यसका लागि साथीहरू पनि लाग्नुपर्‍यो । म पनि आजैबाट लाग्छु’, देउवाले भने ।

देशभरका साथीहरूले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरूले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए । देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको बताए ।

उनले भने, ‘त्यो जाली काम गर्ने सिलवाल अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मूल्यांकन बोकेर हिँडेको छ । त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश । त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो ।’ सत्य कुरामा धेरैले विश्वास नगर्ने देखिएको देउवाको गुनासो थियो ।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

Published : Friday, 2018 June 22, 4:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया