देउवाले फेला पारे कांग्रेस मिलाउने ‘बुटी’

काठमाडौं । निर्वाचनमा भएको पराजयपछि चर्को आलोचना खेप्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा माहोल बनाउँदै लगेका छन् ।

जिल्ला सभापतिहरूको भेला बोलाउन लगाएका सभापति देउवाले विशेष महाधिवेशन र महासमिति बैठकलाई टार्ने योजना बनाएका छन् ।

जिल्ला सभापतिहरूको भेला बोलाउने विधानमा नै व्यवस्था छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दवाव र आलोचनालाई केही मत्थर बनाउन देउवाले जिल्ला सभापतिहरूको भेलालाई हतियारका रुपमा प्रयोग गर्न लागेको आरोप छ ।

जिल्ला सभापतिहरूको भेला असार ५, ६ र ७ गते हेटौंडामा हुँदैछ । भेलालाई देउवाले उद्घाटन गर्नेछन् । भेलामा पौडेल समूह पनि सहभागी हुनेछ । पौडेल समूहका एकजनाले नेताले भने, ‘विशेष महाधिवेशनको कुरा उठेको थियो । महासमितिको बैठकको कुरा पनि आएको थियो । सभापति शेरबहादुर देउवाले ती दुबै कुराबाट पन्छिन विधानमा नभएको व्यवस्थालाई अनुसरण गर्नुभएको छ । तैपनि जिल्ला सभापतिहरूको भेलाले केही हदसम्म कांग्रेसभित्रको विवादलाई समाधान गर्न सहयोग मिल्नेछ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा भएको हारको समीक्षा गर्ने बताए । ‘हामी किन र कसरी हा¥यौं त्यसको तस्बीर जिल्ला सभापतिहरूले दिनु हुनेछ’, उनले भने,‘विधानले के भन्छ भन्दैन मलाई थाहा भएन । तर, जिल्ला सभापतिहरूको भेला समय सन्दर्भअनुसार उचित र ठीक छ ।’

पौडेल समूहले निर्वाचनको पराजयको विषयलाई लिएर देउवालाई विशेष महाधिवेशनबाट हटाउने योजना बनाएको छ । तर, देउवा पनि पौडेल समूहको दवाव र योजना समक्ष झुक्ने पक्षमा छैनन् । १२औँ महाधिवेशनका बेला विपरित ध्रुबमा रहेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अहिले एक भएका छन् । तर, पौडेल समूहलाई सिटौला समूहले अहिले पनि मान्यता दिन सकेको छैन ।

दुई दिन अगाडि सिटौला समूहले काठमाडौंको बत्तीसपुतलीमा भेला आयोजना गरेको थियो । नेविसंघको नाममा गरिएको सिटौला समूहको भेलामा सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहलाई बोलाइएको थिएन । निर्वाचनका बेला घाइते भएकी कार्यकर्तालाई आर्थिक सहयोग उपलब्ध गराउने नाममा कुन्दन काफ्ले समूहले नेविसंघको व्यानर प्रयोग गरेको थियो ।

कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउनुको साटो एकले अर्कोलाई निषेधको राजनीति गरेर जगत हँसाएको भनेर आलोचना हुँदै आएको छ । सिटौला र पौडेल समूह मिलेर कांग्रेसलाई बलियो बनाउन सक्छन् । तर, सिटौला र पौडेल समूह आफैमा मिल्न सकिरहेका छैनन् ।

त्यति मात्रै होइन पौडेल समूहका प्रकाशमान सिंह पनि कसैलाई नेता मान्ने पक्षमा छैनन् । प्रतिनिधि सभा निर्वाचनमा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई झिनो मतअन्तरले पराजित गरेका सिंहले आफ्नो क्षेत्रमा हप्ताको दुई दिन कार्यकर्तासँग प्रत्यक्ष भेट्ने गरेका छन् । उनले ती भेटहरूमा आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको भन्ने गरेका छन् ।

Published : Thursday, 2018 June 7, 7:56 pm

2 प्रतिकृया प्राप्त “देउवाले फेला पारे कांग्रेस मिलाउने ‘बुटी’”

  • सबैजना एक भयर लागेको राम्रो।जय नेपाल ।

  • नेपाली कङ्रेसले एक आपसमा झगडा गरेर आफ्नै खुट्टामा बनचरो चलाउदैछ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया