उपेन्द्रको साथपछि ओली झनै शक्तिशाली, प्रचण्डलाई तनाव

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि मिसिने भएको छ । नेकपा र फोरमका नेताहरूबीच पार्टी एकीकरणलाई लिएर अनौपचारिक छलफल सुरु भइसकेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी भइसकेको छ । कुराकानी भए पनि एकताको प्रक्रियाले अझै आकार लिन नसकेको संघीय फोरमका एक नेताले बताए । ‘हामी सम्मानजनक अवस्थामा नेकपासँग पार्टी एकता गर्न चाहन्छौँ’, ती नेताले भने, ‘नेकपाबाट कस्तो कुरा आउँछ ।’

संघीय फोरमका नेताहरूले पार्टी एकीकरणमा नेकपाद्वारा औपचारिक प्रस्ताव आयो भने कुरा अगाडि बढाउन सहज हुने बताएका छन् ।

दुवै पार्टीमा कम्युनिस्टहरू भएको र दुवै पार्टीबीच आर्थिक क्रान्ति गर्दै समाजवाद स्थापना गर्ने प्रमुख दायित्व भएकाले राजनीतिमा असम्भव केही नभएको नेताहरूको भनाइ छ । फोरमले उठाउँदै आएको मुद्दाका साथै सिद्धान्त, विचार एवं नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकता हुने बताइएको छ ।

फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालीन नेकपा (एमाले) हुँदै नेकपा (माओवादी) राजनीतिमा सक्रिय थिए ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (गैरसरकारी संस्था) गठन गरेर मधेस आन्दोलनमार्फत चर्चामा आएका फोरम नेपालका अध्यक्ष यादव नेतृत्वको पार्टीमा अहिले तत्कालीन एमालेमा रहेका जनजाति समुदायका नेताको बाहुल्य छ ।

एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी गठन गरेका जनजाति समुदायका नेताको नेतृत्व गर्ने अशोक राईलगायतका नेता अहिले फोरम नेपालमा निर्णायक नेतृत्वमा छन् ।

फोरम अध्यक्ष यादव आफंै कम्युनिस्ट हुन् र फोरममा पूर्वएमालेका कम्युनिस्ट नेताहरूको निर्णायक सहभागिता हुनुले फोरम र नेकपाबीचको पार्टी एकता सम्भव रहेको एक नेताले बताए । फोरम नेपालमा रहेका कतिपय नेता पुनः एकीकृत नेकपामै फर्किन चाहनुले पनि एकता सम्भव रहेको बताइएको छ ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग १७४ सिट छ भने फोरम नेपालसँग १६ र राजपा नेपालसँग १७ सिट रहेको छ ।

फोरम नेपाल सरकारमा सहभागी भएपछि सरकारसँग १९० सिट भएको छ । प्रतिनिधिसभाको जम्मा संख्याको ६९ दशमलव ९ प्रतिशत हो ।

Published : Monday, 2018 June 4, 10:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया