कांग्रेस पराजयको जिम्मा नेतृत्वमा जो छ उसले लिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चुनावमा कांग्रेस हार्नुका कारण धेरै भएपनि त्यसको जिम्मा लिन कोही अघि नसरेको भन्दै नेतृत्वमा जो छ उसैले लिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्दै थापाले भने, ‘हामीले सबै कम्युनिष्ट मिल्दा पनि जितेको ४८ सालको चुनावमा मात्र हो । त्यसपछि त हामी हार्न थालिसकेका थियौँ ।’

‘नेतृत्वले महामन्त्रीले यसो गर्‍यो बरिष्ठ नेताले यस्तो भन्यो भनेर रुञ्चे कुरा गर्न पाइन्छ ? भन्ने मेरो प्रश्न थियो’, उनले भने, ‘चुनाव गराएको श्रेय पनि लिनुस र कांग्रेस हारेको जिम्मा पनि लिनुस भनेको थिएँ ।’

राष्ट्रिय राजनीतिमा कांग्रेको भूमिका कमजोर भएको भन्दै उनले संघीयता लाई सफल बनाउने देखि सामाजिक रुपान्तरणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए ।

कांग्रेसको पुनर्जागरणका लागि महाधिवेशनको तयारी सुरु गरिहाल्नुपर्ने थापाको जोड थियो ।

‘महासमिति बोलाएर विधान संसोधन गर्ने र महाधिवेशन पनि सुरु गरिहाल्नुपर्‍यो’, उनले भने, ‘तपाईको पुस्ताले अब विश्राम लिनुपर्छ, लिन पनि लगाउँछौँ । तर यो विधानसम्मत तरिकाले महाधिवेशनबाटै टुंगो लगाउने हो ।’

उनले केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी लगायतसँग मिलेर बनाएको निर्वाचन समीक्षा र आगामी कार्यदिशा नामक ५१ पेज लामो प्रतिवेदन पनि पेश गरेका थिए ।

Published : Tuesday, 2018 April 24, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया