कांग्रेस नेताहरूको लोभलाग्दो उपस्थितिले कम्युनिष्टहरूको मनमा चिसो पस्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाए ।

‘अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा कांग्रेस एकजुट भएर लाग्नुपर्छ’, उनले भने । देउवाले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।

सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने बताए । उनले पार्टीभित्रको अन्तर्घातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पारे । दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र कांग्रेसभित्रको अन्तर्घातले पार्टी पराजय भएको उनको भनाइ थियो ।

पार्टीका महामन्त्री डा सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गरे । ‘इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र कांग्रेसको भलो हुन्छ’, उनले भने ।

महामन्त्री डा कोइरालाले कांग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए । पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताए । दुई पार्टी मिलेर कांग्रेस हारेको भन्नु तर्कमात्र भएको उनको भनाइ थियो ।

नेता सिंहले निर्वाचन भएको दुई महिनामा पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन गर्नुपर्ने भए पनि पार्टी नेतृत्वबाट उक्त काम हुन नसक्दा धेरै कार्यकर्ताले काम नपाएको बताए । केन्द्रीय सदस्य डा प्रकाशशरण महतले कांग्रेसभित्र वृहद एकता आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एउटै व्यक्तिलाई बारम्बार अवसर दिने र पार्टी र संगठनमा काम गरेका व्यक्तिलाई अवसरबाट वञ्चित गर्दा पार्टी कमजोर बन्दै गएको बताए ।

केन्द्रीय सदस्य अम्बिका बस्नेतले इकाइदेखि केन्द्रसम्मका व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्न लागेमात्र पार्टीलाई बलियो बनाउन सकिने बताइन् ।

केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने भन्दै कांग्रेस अब संगठन बलियो बनाउने र भोट बढाउने बाटोमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा धारणा राखेका सबै नेताहरूले कांग्रेसका नेताहरूबीच एकता हुने हो भने कम्युनिष्टहरूले केही बिगार्न नसक्ने बताए । उनीहरूले कांग्रेसका नेताहरूलाई एउटै मञ्चमा देखेर कम्युनिष्ट नेताहरूको मानमा चिसो पसेको समेत टिप्पणी गरेका थिए ।

Published : Saturday, 2018 April 21, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया