केपी ओलीविरुद्ध कठोर बन्यो तरुण दल, कम्यनिस्टविरुद्ध जितजंगले सम्हाले मोर्चा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री केपी ओली तानाशाही बन्न खोजेकाले लोकतन्त्र बचाउन तरुण दलले देशभरि प्रशिक्षण कार्यक्रम गर्न लागेको  बताएका छन् ।

झापामा आइतबार सुरु भएको प्रशिक्षण कार्यक्रम देश भर गर्ने तरुण दलको योजना छ । बिगतमा तरुण दलले युवाहरूका पक्षमा प्रयाप्त काम गर्न नसकेकाले संगठन सुदृढिकरण गर्दै सरकारले गरेका असंवैधानिक कामको बारेमा कार्यकर्तालाई जागरूप बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।

उनले भने, ‘प्रशिक्षण कार्यक्रमले पार्टी कार्यकर्ताको नेतृत्व विकास गर्न पनि सहयोग पुर्याउनेछ ।’ निर्वाचनपछि पार्टी केही कमजोर भएको भन्दै अध्यक्ष बस्नेतले जनतामा पार्टीले एजेण्डाहरू लगेर जान नसकिरहेको बताए ।

केपी ओली सरकारले असंवैधानिक कामहरू गरिरहेको आरोप लगाउँदै बस्नेतले तरुण दलका सदस्यलाई सरकारले गरेका असंवैधानिक कामबारे स्पष्ट पार्नु प्रशिक्षणको उदेश्य भएको बताए । केपी ओलीले सांसदको सपथ नलिई प्रधानमन्त्रीको सपथ लिनु संसदीय अभ्यास विपरित भएको बस्नेतको आरोप छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णयहरू चौवीस घण्टाभित्रमा सार्वजनिक हुनु पर्नेमा सचिव सरुवा जस्तो सामान्य निर्णय पनि ४ दिन लुकाएर सरकारले तानाशाही प्रवृति देखाएको उनको आरोप छ ।

दुईतिहाई बहुमतको धम्की देखाएर सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई असंवैधानिक तवरले हटाएको बस्नेतले आरोप लगाए ।
संसारका धेरै देशहरूमा निर्वाचित नेता पनि तानाशाही बनेको उदाहरण रहेको भन्दै बस्नेतले प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप पनि तानाशाही बन्ने प्रवृतिका देखिएको बताए ।

चैत २९ र ३० गते २ नम्बर प्रदेशको पर्सा, वैशाख ३ र ४ गते ३ नम्बर प्रदेशको हेटौंडामा, वैशाख ६ र ७ गते ४ नम्बर प्रदेशको पर्वत, वैशाख ९ र १० गते ५ नम्बर प्रदेशको रुपन्देहीमा, वैशाख १२ र १३ गते ७ नम्बर प्रदेशको डडेलधुरा र वैशाख ३० र ३१ गते कर्णाली प्रदेशको सुर्खेतमा तरुण दलले प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछ ।

Published : Wednesday, 2018 April 11, 9:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया