दुई कम्युनिस्ट पार्टीको अडानले भाँडिने अवस्थामा पुग्यो एकता प्रक्रिया

काठमाडौं । प्रमुख दुई कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्रको एकता प्रक्रियामा कालो बादल मडारिएको छ ।

एमालेका नेताका अनुसार पार्टी एकीकरणको कुरा माओवादीका कारण सहज रुपमा अगाडि बढ्न सकेको छैन । एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ–आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।

एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयालई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए ।

एकता प्रक्रिया टुंग्याएर मात्रै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा निस्किने भनेपछि दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए ।

चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन । अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बसेर टुंग्याउन दुवै दल सहमत भए ।

प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि डाकिएको मंगलबारको बैठक स्थगित भएको छ । दुवै पार्टीका शर्ष नेताको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

अर्को बैठक बुधबार डाकिएको छ । तर, अडानमा दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले सहमति जुट्ने अवस्था कम छ ।

Published : Wednesday, 2018 April 11, 10:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया