ओलीको कदमले पार्टी एकीकरणमा धक्का : माओवादी

काठमाडौं । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले सचिव सरुवाका कारण पार्टी एकीकरणमा समस्या पर्न सक्ने चेतावनी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले प्रमुख सत्ता साझेदार घटक दलसँग कुनै परामर्श नै नगरी सचिव सरुवा गर्नुले विभिन्न प्रश्न खडा गरेको बताए ।

‘सचिव सरुवाले पार्टी एकीकरणमा पनि दख्ल पु¥याउन सक्छ’, उनले भने, ‘अहिले पार्टी एकीकरण भइसकेको छैन । माओवादी प्रमुख सत्ता साझेदार घटक हो ।’

पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली देखाएको यो व्यवहारबाट आफूहरूको मन दुखेको माओवादी नेता पोखरेलले बताए ।

‘जे गरे पनि हुन्छ भनेर सोँच्ने हो भने पार्टी एकीकरणमा समस्या पर्न सक्छ’, उनले भने, ‘अहिले पार्टी एकीकरण नहुँदा त यस्तो अवस्था छ भने पार्टी एकीकरण भयो भने के होला ?

प्रधानमन्त्री ओलीले आफ्नो सीमित गुटको सल्लाहमा पुरानो ब्याक डेट राखेर सचिव सरुवा गरिएको उनले आरोप लगाए । ‘उहाँ (ओली)का केही मान्छेहरू बसेर मन्त्रीहरूलाई जानकारी नदिएर काम गरिएको छ’, माओवादी नेता पोखरेलले भने, ‘सचिव सरुवाको निर्णय सच्चिनु पर्छ ।’

भारत भ्रमणका विषयमा माओवादी नेता पोखरेलले कुनै नयाँ उपलब्धि नभएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको भारत भ्रमणबाट कुनै नयाँ उपलब्धि भएको छैन’, उनले भने, ‘भारतीय पक्षसँग भेटेर ओलीजीले आफ्नो व्यक्तिगत बिग्रिएको सम्बन्ध सुधार गरेर आउनु भएको छ ।’

Published : Tuesday, 2018 April 10, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया