सत्ताका ‘लोभी’ माओवादी मन्त्रीहरूले कति सिध्याए ? यस्तो छ एकएक हिसाब–किताब

काठमाडौं । कांग्रेसलाई सिध्याउने गरेर एमालेसँग बाम गठबन्धन गरेको माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरूले राज्यकोषको सवा करोड रुपैयाँभन्दा बढी खर्च गरेको खुलासा भएको छ ।
सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै ३१ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी १७ मन्त्रीलाई बिनाविभागीय बनाइदिएका थिए ।
बिनाविभागीय बनाइएकाहरूमध्ये राज्यमन्त्री शम्भुलाल श्रेष्ठ भने पछि माओवादी केन्द्र छाडेर कांग्रेसमा प्रवेश गरे । माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका १६ जना बिनाविभागीय मन्त्रीहरूले सरकारी ढुकुटीबाट करिब सवा करोड खर्च गरेपछि २८ पुसमा राजीनामा दिएका हुन् ।
चुनाव सार्ने ‘षड्यन्त्र’ हुन सक्ने भन्दै हठात सरकारबाट बाहिरिने निर्णय फिर्ता लिएपछि बिनाविभागीय बनाइएका माओवादी मन्त्रीहरूले सरकारी सुविधा र सेवा उपभोग गरेरै ८७ दिन बिताए ।
कतिपय मन्त्रीले त मन्त्रिपरिषद् बैठकमै नियमित भाग लिने गरेका थिए । राज्यकोषका लागि अनावश्यक भार बनेको बन्दै माओवादी मन्त्रीहरूको आलोचना हुँदै आएको थियो । देउवा सरकारमा माओवादी केन्द्रका तर्फबाट एक जना उपप्रधानमन्त्री, आठ जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी थिए ।
बिनाविभागीय भएपछि पनि उनीहरू जिम्मेवारीसहितको मन्त्रीकै हैसियतमा राज्यस्रोतको निर्वाध उपभोग गर्न पछि परेनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारदेखि आफ्नो पार्टीका कार्यक्रममा मन्त्रीकै हैसियतले राज्यको सुविधा उपभोग गरे ।
मतदान गर्न आफ्नो गृहनगर जाँदा होस् वा निर्वाचनमा मनोनयन दर्तासम्म पनि उनीहरूको सान कुनै प्रभावशाली मन्त्रीभन्दा कम थिएन ।
यी मन्त्रीहरूका कारण मात्र २८ पुससम्म सरकारी ढुकुटीबाट एक करोड २७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।
सरकारले मन्त्रीहरूका लागि मासिक पारिश्रमिकका अतिरिक्त निजी सचिवालय खर्च, सवारीसाधनको इन्धन, मासिक मसलन्द तथा अतिथि सत्कार, मोबाइललगायत विभिन्न शीर्षकका खर्च व्यहोर्ने गर्छ ।
भाडामा बस्नेहरूका लागि घरभाडा, खानेपानी, बिजुलीका लागि छुट्टै रकम दिइन्छ । करिब तीन महिनामा माओवादी मन्त्रीहरूले मासिक पारिश्रमिकबापत करिब २८ लाख रुपैयाँभन्दा बढी बुझेका छन् ।
निजी सचिवालयका लागि पनि ठूलै रकम खर्च भएको छ । उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका निजी सचिवालयले मात्र ७४ लाख १७ हजार ९ सय ३९ रुपैयाँ तलबबापत थापेका छन् ।
उपप्रधानमन्त्रीको निजी सचिवालयका लागि मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँ, मन्त्रीका लागि मासिक १ लाख ५७ हजार ३ सय ६० रुपैयाँ र राज्यमन्त्रीका लागि १ लाख ५७ हजार ३ सय ६० रुपैयाँ दिने व्यवस्था छ ।
मन्त्रीदेखि राज्यमन्त्रीको गाडीको इन्धनको खर्चसमेत सरकारले नै व्यहोर्ने गर्छ । इन्धनका लागि १६ जनाले ९ लाख १४ हजार रुपैयाँ र मोबाइल खर्चका लागि १ लाख ३९ हजार २ सय रुपैयाँ राज्यकोषबाट लिएका छन् ।
मसलन्द र अतिथि सत्कारका नाममा मात्र यस अवधिमा एक लाख ५३ हजार ७ सय रुपैयाँ खर्च भएको छ । तलबबापत उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले क्रमशस् ६५ हजार २ सय, ६० हजार ९ सय ७० र राज्यमन्त्रीले ५७ हजार ७ सय ८० पाउने गर्छन् ।
माओवादी मन्त्रीमध्ये उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित आठ जना मन्त्री निवास पुल्चोकमा, १ जना मन्त्री र ७ जना राज्यमन्त्री भाडाका घरमा बस्दै आएका थिए ।
यस अवधिमा सरकारी निवास बाहिर बस्ने मन्त्री तथा राज्यमन्त्रीले पानीका लागि २ लाख २८ हजार ४ सय रुपैयाँ र बिजुलीका लागि ५८ हजार रुपैयाँ बुझेका छन् ।
त्यसबाहेक सवारी निवास प्रयोग नगर्ने मन्त्रीहरूले घरभाडाबापत मासिक ४० हजार रुपैयाँ, खानेपानीका लागि मासिक ४० हजार लिटरका हिसाबले करिब १२ हजार र बिजुली औसत मासिक २५ सय रुपैयाँ पाउँछन् ।
सरकारी निवासमा नबस्ने मन्त्रीले पदबाट राजीनामा दिएको दिनदेखि थप सात दिनको घरभाडा पाउने व्यवस्था छ । यसबाहेक पनि सुरक्षाकर्मीको तलब, सरकारी निवासमा हुने साधनस्रोतको प्रयोग र राजधानी बाहिर जाँदा स्थानीय प्रशासनले उपलब्ध गराउने सत्कार र सुरक्षालगायतमा पनि सरकारी ढुकुटी खर्च हुने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत