कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?

यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेस कुनै व्यक्तिको लहड र सनकबाट बनेको पार्टी होइन। यो त वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा हुँदै लाखौँ इमान्दार कार्यकर्ताको रगत, पसिना र त्यागले उभिएको एउटा विशाल विचार हो। जेनजी आन्दोलन हुनुभन्दा दुई-तीन महिना पहिले तत्कालीन सभापति शेरबहादुर देउवाले चितवनको एउटा भेलामा भन्नुभएको थियो— “अब उमेर, विधान र स्वास्थ्यका कारण म सभापति बन्ने होइन, तपाईं भाइहरू अघि सर्नुस्। अब १५ औँ अधिवेशनको सभापति लगायतका नेता तपाईंहरू नै हुने हो।” उहाँले स्पष्ट रूपमा नेतृत्व हस्तान्तरणकै कुरा गर्नुभएको थियो।

आज विशेष महाधिवेशन, निर्वाचन आयोग र अदालतको फैसलापछि गगन थापा पार्टीको सभापति हुनुभएको छ। वर्तमान राजनीतिक परिवेशलाई नियाल्दा, नियमित १५ औँ महाधिवेशन भएको भए पनि उहाँ नै पार्टी सभापति निर्वाचित हुने माहोल देखिन्थ्यो हामी पनि पन्ध्रौँ महाधिवेशन नियमित गरेर जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर उहाँहरू जस्ता मान्छेलाई भोट हाल्न हामी आतुर थियौँ मैले यो कुरा सामाजिक सञ्जालमा विभिन्न कार्यक्रममा बोल्दै आएको लेख्दै आएको कुरा हो। मेरो फेसबुकमा गएर हेर्न सक्नुहुन्छ। अब हुने आगामी नियमित १५ औँ महाधिवेशनमा पनि उहाँ नै सभापति बन्ने सम्भावना बलियो छ। उहाँले हामी जस्ता आम नेपाली कांग्रेसका जुजारु युवा पुराना नयाँ जेन्जी सबैलाई १५ औँ महाधिवेशनमा भाग लिने वातावरण बनाइदिनुहुनेछ भने आशा गरेका छौं। उहाँ ५४ प्रतिशतको मात्र नभएर बाँकी ४६ प्रतिशतको पनि पार्टी सभापति भएर एकताको १५औं अधिवेशन गराउनु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। त्यसैले उहाँले पुरानो पुस्तादेखि तलको नयाँ पुस्तासम्म सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। पद लिनु र पार्टी आफ्नो अनुकूल हुनु मात्र ठूलो कुरा होइन, यो संकटको घडीमा पार्टीको अस्तित्व जोगाउनु सबैभन्दा ठूलो कुरा हो।

तर, आज कांग्रेस दिनप्रतिदिन कमजोर बन्दै गएको र कार्यकर्ताले पार्टी छोड्ने क्रम बढ्दो रहेको यो गम्भीर मोडमा नेतृत्वको हठ र केही प्रवृत्तिले देशभरिका आम जिम्मेवार कार्यकर्तालाई चिन्तित बनाएको छ।

क्रियाशील सदस्यतामा जबरजस्ती र धम्की किन?

अहिले क्रियाशील सदस्यता अद्यावधिक (नवीकरण) गर्ने नाममा गाउँ-गाउँमा जुन प्रकारको जबरजस्ती र धम्कीपूर्ण वातावरण सिर्जना गरिएको छ, त्यो एकदमै दुर्भाग्यपूर्ण छ। झन्डै दुई महिनादेखि म्याद थप गरी आह्वान गर्दा पनि तल्लो तह, वडा र गाउँमा कार्यकर्ताको इच्छाशक्ति र चासो देखिएको छैन। कतिपय वडामा मुस्किलले १०/१५ प्रतिशतले मात्र अद्यावधिक गरेका छन तर बहुसंख्यक कार्यकर्ताले चासो दिएका छैनन्।

कस्तो विडम्बना! पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहका नेताहरूले “मैले क्रियाशील सदस्यता अद्यावधिक गरेँ है” भन्दै फेसबुकमा फोटो हाल्नुपर्ने अवस्था आएको छ। यस्तो अवस्थामा पनि अद्यावधिक नगर्ने सदस्यहरूलाई कारबाही गर्ने भन्दै केन्द्रीय कमिटीले सूचना जारी गर्नु कतिसम्म न्यायसंगत हो?

यो उदासीनताको मुख्य कारण जनता र कार्यकर्तामा आएको तीव्र वितृष्णा हो, जुन जेन्जी आन्दोलनपछिको पार्टीभित्रको किचलो र निर्वाचनमा बेहोरेको पराजयको परिणाम हो। अहिले झनै आन्तरिक झगडा बढ्दै गएकाले आम कार्यकर्तामा कुनै उत्साह छैन। यस्तो गम्भीर परिस्थितिमा क्रियाशील सदस्यताका बारेमा व्यापक छलफल गरेर अर्को विकल्प अपनाउनुपर्नेमा उल्टै जबरजस्ती गर्दा पार्टी कसरी बलियो हुन्छ?

२०औँ वर्षसम्म पार्टीको झोला बोकेर, आफ्नै गोजीको पैसा सिध्याएर, परिवार र समाजसँग रिसिबी मोलेर पार्टीको संगठनमा निरन्तर लागिरहेका गाउँका सभापतिहरूलाई ‘कारबाही गर्ने’ धम्की दिनु कारबाही गर्नु कतिसम्मको अन्याय हो? के दुःख गर्ने कार्यकर्ताहरू नेताका ‘दास र लास’ मात्र हुनुपर्ने हो? यो हतारो र जबरजस्तीले गाउँमा न त क्रियाशील सदस्य बाँकी रहन्छन्, न कारबाही भोग्ने मान्छे नै भेटिनेछन्।

डा. शेखर कोइरालाको प्रस्ताव नै सही निकास

क्रियाशील सदस्यताको यो किचलो र जबरजस्तीलाई रोक्न डा. शेखर कोइरालाले अघि सार्नुभएको प्रस्ताव नै आजको उत्तम विकल्प हो। उहाँले ‘१५औँ महाधिवेशनका लागि भरेर पठाइएका सदस्यहरूलाई नै अद्यावधिक गरेर निरन्तरता दिने’ जुन प्रस्ताव राख्नुभयो, त्यो एकदमै व्यावहारिक छ।

तत्कालीन अवस्थामा अहिलेका सभापति र उपसभापति नै महामन्त्री हुनुहुन्थ्यो। उहाँहरू आफैँ पदमा रहँदा वितरण गरिएको सदस्यतालाई निरन्तरता दिन अहिले किन यत्रो आनाकानी र इगो (अहंकार)? हठ र अहङ्कारले पार्टीलाई कहिल्यै फाइदा गर्दैन, यसअघि नै पार्टीले फागुन २१ को राजनीतिक घटनाक्रम र चुनावमा ठूलो क्षति भोगिसकेको छ।

गुटगत भेला र छलफललाई अन्यथा लिनु पर्दैन

अधिवेशनको समयमा आफ्ना विचार मिल्ने साथीहरूसँग बसेर छलफल गर्नु, भेला हुनु र रणनीति बनाउनु स्वाभाविक लोकतान्त्रिक अभ्यास हो। अन्य गुट र पक्षका नेता तथा साथीहरूले पनि भनिरहेका छन् कि— यस्ता भेलाहरू गर्न पाइन्छ र विगतमा हामीले पनि गर्दै आएका थियौँ। विचार मिल्नेहरूको आन्तरिक छलफल र भेलाले संगठनलाई जीवन्त बनाउँछ, यसले पार्टी फुट्दैन। त्यसैले यस्ता छलफलहरूलाई कसैले पनि अन्यथा लिनु हुँदैन।

तर, रूपान्तरणको नारा दिने टोलीका केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अग्रज नेताहरूलाई लक्षित गरी जुन प्रकारको तुच्छ गालीगलौज र अपमानको शैली अपनाएका छन्, त्यसले पार्टी बनाउँदैन। २० वर्षदेखि निरन्तर संसद र सत्ताको बागडोर सम्हालेकाहरूले आज समय छोटो भयो भन्दै “५० दिनमा चुनाव हाँक्न सकेनौँ” भनेर बहानाबाजी गर्नु कति उचित हो? नयाँ भनिएका दलहरू २-३ वर्षमै कहाँबाट कहाँ पुगिसके? अनि अहिलेका प्रधानमन्त्री बालेन शाहले त ५० दिन पनि राजनीतिक संगठन नगरी कसरी उत्कृष्ट नतिजा देखाए? भाषण र सामाजिक सञ्जालको स्टन्टले मात्र पार्टी चल्दैन, हामी ‘मै हुँ’ भन्ने युवाहरूले जनताको मन जितेर वास्तविक विश्वास कमाउनु आजको मुख्य आवश्यकता हो।

पुराना नेताहरूमाथिको अन्याय र राजनीतिक प्रतिशोध

देशमा जेनजी आन्दोलनको नाममा जुन घुसपैठ भयो, हाम्रा नेता शेरबहादुर देउवा लगायतका अग्रजहरूमाथि कुटपिट, चोरी र घर आगजनीसम्मका निकृष्ट कार्यहरू भए, त्यसका विरुद्ध पार्टी दृढतापूर्वक उभिनै सकेन। झन् त्यसको लगत्तै राज्यका निकायहरूले जसरी गैरजिम्मेवार तरिकाले पक्राउ पुर्जी जारी गरे, त्यो सरासर राजनीतिक प्रतिशोध र दुःख दिने नियतले गरिएको खेल देखिन्छ। गल्ती गर्नेलाई कानुनले सजाय दिनुपर्छ, कानुनभन्दा माथि कोही छैन र यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। तर, राज्यको यो गलत र प्रतिशोधपूर्ण निर्णयका विरुद्ध पार्टी नेतृत्व ‘चुइक्क’ सम्म नबोल्नु अत्यन्तै रहस्यमय र दुःखद छ।

आफ्नै पार्टीका नेता-कार्यकर्तामाथि प्रतिशोध साध्न राज्यशक्तिको दुरुपयोग हुँदा पनि वर्तमान सरकारको अन्यायपूर्ण कदमविरुद्ध बोल्न नसक्ने लाचार नेतृत्व भएको पार्टीमा भोलि कसले र किन रगत-पसिना बगाउँछ? यस्तो असुरक्षित र अभिभावकविहीन अवस्थामा कसले क्रियाशील सदस्यता नवीकरण गर्छ? कसले नयाँ सदस्यता भर्छ वा अन्य पार्टी परित्याग गरेर हाम्रो पार्टीमा समाहित हुन आउँछ? नेतृत्वले यो कुराको जवाफ दिनुपर्छ कि पर्दैन? संगठन बलियो बनाउने आधार यही हो त?

पार्टीभित्रको आन्तरिक प्रतिशोधका कारण फरक गुटका नेता तथा कार्यकर्तालाई सिध्याउन राज्यशक्तिसँग सम्झौता गर्ने वा मौन बस्ने यो प्रवृत्ति आत्मघाती छ। यसको परिणाम भोलिका दिनमा झन् भयानक हुनेछ। आज हाम्रा पुराना नेताहरूलाई अन्याय पर्दा चुप बस्ने हो भने भोलि यो नियति अहिलेका नयाँ वा जोसुकै नेता-कार्यकर्तालाई पनि पर्न सक्छ। सत्य सधैँ सत्य नै हुन्छ, ढिलो-चाँडो न्यायको जित अवश्य हुन्छ, त्यसैले सबैले संकीर्ण घेराभन्दा माथि उठेर राम्रो सोच राखौँ।

मेरो अपील

पार्टी बलियो हुन पुरानो पुस्ताको अनुभव एवं पाकोपन तथा नयाँ पुस्ताको जोस र ऊर्जा दुवै चाहिन्छ। ‘बुढाहरू काम लाग्दैनन्’ भन्दै गर्दा भोलि हामी आफैँ पनि बुढा हुन्छौँ भन्ने चेत सबैमा हुनुपर्छ।

मेरो पर्वतका र देशभरिका आदरणीय नेता तथा साथीहरूलाई विनम्र आग्रह छ कसैको वैयक्तिक लैलैमा लागेर, नेताहरूको अन्धभक्त र दास बनेर आफ्नो विवेक नबेच्नुहोस्। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने आँट राखौँ, तर अराजक बनेर कसैलाई पनि गाली गलोज नगरौँ। हामी अब दास र लास पट्टि नलागौं विगतमा नेता हरुले भनेका कुराहरू पनि सम्झेउ सम्झौ परिवर्तन रुपान्तरण र पुस्तान्तरण भनियो तर गरिएन। यसैगरी गरी नेताले कार्यकर्तालाई दास र लास बनाइरहेका छन्। अहिले एकछिनको फुरुक्कले हामी भोलि पछुताउनुपर्छ त्यही भएर त्यसलाई एकदम गहन साथ मनमा लिएर अगाडि बढौं नेपाली कांग्रेस भन्दा यो देशमा अरु विकल्प छैन यी सबै कुरामाथि लेखेका सबै कुरालाई सच्चाउनको लागि हामी एक भएर कहाँ के छ त समस्याहरु त्यहाँ गाउँ गाउँमा गएर क्रियाशील सदस्यताहरु पार्टीका सदस्यताहरू पार्टीलाई कसरी संगठन गर्ने भन्ने कुराहरूलाई सबै एक लाग्यो भने ढिलो चाँडो भर्खरै नहोला केही समय लाग्ला इतिहास पनि छ कहिले कसले जित्या छ कहिले कसले जित्या छ त्यही अनुसार पनि एक दिन कांग्रेस आइहाल्छ त्यसलाई खासै डराउनुपर्ने छैन तर काङ्ग्रेस एक हुनुपर्छ एक भएको छैन आजको दिनसम्म।

वीपीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्तलाई शिरोपर गर्दै, अग्रजको सम्मान र जुझारु युवाको कदर गरेर मात्रै कांग्रेस बच्छ। ढिलो-चाँडो यो देश र जनताको भलो गर्ने पार्टी नेपाली कांग्रेस नै हो। कांग्रेसबिना न देश बन्छ, न जनताले न्याय पाउँछन्। त्यसैले देश विकासका लागि कांग्रेसको नेतृत्व अनिवार्य छ। तर, त्यसका लागि नेतृत्वले कार्यकर्तालाई दास र लास होइन, पार्टीको असली मालिक र मेरुदण्ड सम्झिन सिक्नुपर्छ।

जय नेपाल !

Published : Friday, 2026 May 29, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया