कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेको छु, अध्यावधि गर्दैन : सांसद एवं उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेस, सुर्खेतका उपसभापति एवम् प्रतिनिधि सभाका सांसद विष्णुबहादुर खड्काले आफूले क्रियाशील सदस्यता नवीकरण गरिसकेकोले अध्यावधि नगरेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर उपसभापति खड्काले आफूले क्रियाशील सदस्यता अध्यावधि नगरेको बताए । आफूले क्रियाशील सदस्यता अध्यावधि गरेको भनेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उपसभापति एवम् सांसद खड्काले भनेका छन्, ‘म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतको १४औँ महाधिवेशनबाट निर्वाचित उपसभापति हुँ ।’

‘२०८२ फागुन २१ गते सम्पन्न संघीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ का आममतदाता आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूको अपार माया विश्वास र अत्याधिक बहुमतबाट निर्वाचित प्रतिनधि सभा सदस्य पनि हुँ,’ उनले भने ।

‘म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतले आयोजना गरेको वीपी स्मृति कार्यक्रम र पार्टीको कार्यक्रममा गएको हुँ,’ खड्काले भने ।

‘म कुनै गुटको कार्यक्रममा गएको होइन । मैले १५औँ महाधिवेशनका लागि तत्कालीन महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिले गरेको निर्णय र परिपत्र अनुसार २०८२ पौष १० गतेभित्र कृयाशील सदस्य नवीकरण गरिसकेको छु । त्यस कारण मैले अध्यावधिक नगर्ने निर्णय गरेको हुँ । गरेको पनि छैन ।’

‘केही अनलाईन मिडियाबाट गरेको भ्रमपूर्ण समाचारप्रति मेरो घोर आपत्ति रहेको जानकारी गराउँदै यस्ता कपोकल्पिक समाचारप्रति विश्वास नगर्न सम्पर्णमा हार्दिक अनुरोध गर्दछु ।’

सुर्खेत कांग्रेसका उपसभापति एवम् सांसद खड्का नेता पूर्णबहादुर खड्काका भाइ हुन् । खड्काले क्रियाशील सदस्यता अध्यावधि गरेको भनेर समाचार आइरहेका बेला ती समाचारको खण्डन गर्दै आफूले क्रियाशील सदस्यता नवीकरण गरेकाले अध्यावधि नगरिएको बताएका छन् ।

Published : Monday, 2026 July 27, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया