बामदेवले दिए शुभेच्छुकलाई मन छुने अभिव्यक्ति

काठमाडौं । कम्युनिष्ट गठबन्धन बनाउन र एमालेमा टिकट वितरणमा महत्वपूर्ण भूमिका खेलेका एमालेका उपाध्यक्ष बामदेव गौतमले गृहजिल्ला बर्दियामा पराजय भएपछि आफूमाथि झन् जिम्मेवारी थपिएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता तथा सिचाइँमन्त्री सञ्जयकुमार गौतमसँग आइतबार प्रतिनिधी सभा क्षेत्र नं. १ मा पराजित भएपछि उपाध्यक्ष बामदेवले विज्ञप्ति जारी गरेर वर्तमान प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडि बढाउन ढोका खुलेको बताएका हुन् ।

‘निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवादाउन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभूति प्राप्त गरेका छन्’, एमालेका उपाध्यक्ष गौतमले भनेका छन् ।

‘वाम गठबन्धनको एउटा प्रमख सुत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु’, एमालेका उपाध्यक्ष गौतमले भनेका छन्, ‘म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन ।’

यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा आफू विश्वस्त रहेको बामदेव गौतमले उल्लेख गरेका छन् ।

एमालेका उपाध्यक्ष गौतमले विज्ञप्ति जारी गरेर पराजय स्वीकार गरे पनि विजयी भएका नेपाली कांग्रेसका नेता तथा मन्त्री सञ्जयकुमार गौतमलाई बधाइ दिएका छैनन् । एमाले नेता गौतमले देखाएको यो दम्भले बर्दियाका मतदाताहरूमा निराशा छाएको छ ।

Published : Sunday, 2017 December 10, 7:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया