कम्यनिष्टहरू अधिकार जनतामा दिन चाहँदैनन् : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट नेताहरूले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार गुम्ने बताएका छन् ।

कांग्रेसका सर्वोच्च नेता लौहपुरुष गणेशमानसिंहको १०२ औं जन्मजयन्तिको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले कम्युनिष्टहरू अधिनायकवाद ल्याउन लागेको बताए ।

प्रधानमन्त्री देउवाले गणेशमान सिंहसहित नेपाली कांग्रेसका नेताहरूले आफ्नो जीवनको पर्वाह नगरी नागरिक हक–अधिकारका लागि जीवनभर संघर्ष गरेका कारण जनताले अहिले निर्वाध रुपमा मौलिक हक प्रयोग गर्न पाएको उल्लेख गरे ।

कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिले राणा शासनको अन्त गराई नेपालमा प्रजातन्त्र ल्याएको प्रसंग उल्लेख गर्दै देउवाले लोकतान्त्रिक पद्धतिको विकासका लागि पहिलो निर्वाचन गराउन कांग्रेसले झण्डै ८ वर्ष राजासंग संघर्ष गर्न परेको पनि बताए ।

२०१५ सालको आम चुनावमा दुईतिहाइ सीट जितेको नेपाली कांग्रेसको सरकार र संसद नै राजाले अपदस्थ गरेर तत्कालीन प्रधानमन्त्री वीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह लगायतका वरिष्ठ मन्त्री र कांग्रेस नेताहरूलाई जेलमा राखेपछि पनि उहाँले लोकतान्त्रिक शासन व्यवस्थाको पुनर्वहालीका लागि गरेको त्याग र जेलमुक्त भएपछि ०४६ सालको आन्दोलनको कुशल नेतृत्व गरेर लोकतन्त्रको बहाली गराउने उनको नेतृत्व क्षमताको पनि देउवाले प्रशंसा गरे ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलताका अभिव्यक्ति दिएकोले उनीहरूको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुन पनि बताए ।

Published : Friday, 2017 November 10, 10:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया