अभ्यास खेलमा नेपाल बंगलादेशसंग पराजित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

बंगलादेश भ्रमणमा रहेको नेपाली यू-१९ टोली शनिबार घरेलु टोली बंगलादेश यू-१९ संग १२३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

२२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भएको हो । बंगलादेश भ्रमणमा पहिलो खेल खेलेका बलर रसिद खानले नेपालको इनिङ्समा सर्वाधिक २४ रन बनाए। ४० बल खेलेका रसिदले २ चौका र १ छक्का प्रहार गरे ।

यस्तै पवन सराफले बनाएको १६ तथा सन्दीप लमिछानेले नटआउट १३ रन जोडे। रसिदसंगै पहिलो खेल खेलेका प्रनित थापा मगरले १२ रन बनाए । ब्याट्सम्यान प्रनितले आठौं नम्वरमा ब्याटिङ गरेका थिए ।

पहिलो खेलमा खेलेका दुई फास्ट बलर कमल सिंह ऐरी र किशोर महतोको स्थानमा शनिबार नेपालबाट ब्याट्सम्यान प्रनित थापा मगर र रसिद खानले खेलेका हुन् ।

रसिद खान र सन्दीप लामिछानेले दशौँ विकेटका लागि ३७ रनको पार्टनरसिप गरे। जुन नेपाली इनिङ्सको सर्वाधिक पार्टनरसिप हो ।

२९/५ र ४०/६ भएको अवस्थामा पवन र प्रनितले सातौँ विकेटका लागि २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स केही उकासेका थिए । त्यसमा रसिद र सन्दीपले गतिलो साझेदारी गर्दै नेपालको स्कोर सय रन कटाएका थिए ।

२८.३ ओभरमा ६७ रन मात्र बनाउने क्रममा नेपालले ९ विकेट गुमाइसकेको थियो । नवौ नम्वरमा ब्याटिङ गरेका रसिद र एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीप, यी दुई बलर मिलेर नेपाललाई फराकिलो हारबाट जोगाए ।

बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलम शुन्यमै आउट भए ।

त्यसअघि बिकेएसपिजीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले कप्तान शैफ हसन र अफिफ होसेनको अर्भशतक मद्दतमा पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २२७ रन बनाएको थियो । शैफले बंगलादेशका लागि सर्वाधिक ६२ रन बनाए भने अफिफले ५९ रन जोडे । यस्तै तवहिद ह्रिदोएले २९ तथा नाएम शेखले २६ रन बनाए ।

बलिङमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने बंगलादेशका ३ खेलाडी रनआउट भए ।

ब्याटिङमा सर्वाधिक रन बनाएका रसिदले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर ६१ रन दिएका थिए ।

नेपाल र बंगलादेशबीच तेस्रो तथा अन्तिम अभ्यास खेल भोली आइतबार हुनेछ । मलेसियामा आगामी बिहिबारबाट शुरु हुने यू-१९ एसिया कपमा नेपाल, बंगलादेश, भारत र मलेसिया एउटै समूहमा छ ।

Published : Saturday, 2017 November 4, 4:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया