यी हुन् नवराज सिलवालको आईजीपी बन्ने सपना भताभुङ्ग पार्ने थापा

काठमाडौं । नेपाल प्रहरीभित्र अन्याय भएको भन्दै राजीनामा स्वीकृत नहुँदै एमाले पार्टीको सदस्यता लिएका डिआईजी नवराज सिलवालको चरम अत्याचारमा परेका गुनबहादुर थापाले सिलवाललाई हदैसम्मको कारबाही माग गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका सिलवाल कानूनतः बहालवाला डिआइजी नै हुन् । राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान छ ।

सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्नुपर्छ । राजीनामापत्र हालसम्म प्रहरी मुख्यालयमै छ । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले सिलवालको राजीनामा नभएको र स्वीकृत प्रशासनिक प्रक्रियामै रहेको बताए ।

सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा फैसला आएलगत्तै उनले राजीनामा दिएका थिए ।

कार्य सम्पादन मूल्यांकनको फाइल कीर्ते गरेको अभियोगमा सिलवालमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

प्रहरी नियमावाली अनुसार संगठनमा कार्यरत रहेको अवस्थामा कुनै पनि राजनीतिक दलमा सक्रिय भएर लागे त्यस्ता प्रहरीलाई कारवाही हुने प्राबधान छ ।

सिलवाललाई ‘भगौडा’ र सरकारी कागजात कीर्तेको अभियोगमा संगठनले कारबाही गर्ने भएपछि जोगिनका लागि डिआईजी सिलवाल एमाले अध्यक्ष ओलीको शरणमा पुगेको प्रहरी हेडक्वाटर नक्सालमा चर्चा छ ।

न्याय र अस्तित्व जोगाउन एमाले प्रवेश गरेको बताउने सिलवाल र एमाले अध्यक्ष ओलीप्रति सिलवालबाट पीडित हुन पुगेका गुनबहादुर थापाले हदैसम्मको कारबाहीको माग गरेका छन् ।

‘बर्दीको आडमा मलाई ८ वर्षसम्म आर्थिक र मानसिक तनाब दिने व्यक्तिले न्याय र अस्तित्वको कुरा गर्नु भनेको सबैलाई भ्रममा पार्नु हो’, सिलवालबाट पीडित थापाले भनेका छन्, ‘मेरो करोडौको सम्पत्ति हडपेर राजनीति गर्न खोज्ने नवराज सिलवाल जस्ता प्रहरीबिरुद्द लडाइँ अब सुरु हुन्छ ।’ थापाले भने, ‘नवराज सिलवाललाई मेरो आँशुको पाप लागेको छ ।’

सिलवालले ५ सय २५ प्रतिशत ब्याज लिएर आफूलाई ठगी गरेको तथा पटक–पटक यही कारण जेलमा हालेको थापाको दावी छ । यस्ता व्यक्तिलाई एमाले अध्यक्ष ओलीले रातो कार्पेट बिच्छाएर पार्टी प्रवेश गरार्इ गृहमन्त्री समेत बनाउछु भन्नु आफू जस्ता पीडितहरूमाथि थप पीडा दिनु बाहेक केही नभएको थापाले उल्लेख गरे ।

सिलवालले थापालाई दुःख दिन र सम्पत्ती हडप्न लागूऔषध, चेक बाउन्स, चेलिबेटी बेचविखनको आरोपमा थुनामा राख्दै आएका थिए । सिलवाल निलम्बनमा पर्नेवित्तिकै थापा निर्दोष रहेको भन्दै रिहा गरिएको थियो ।

एमालेले सिलवाललाई चोख्याए पनि जनताको नजरमा गिरिसकेको थापाले बताए ।
थापाकै कारण प्रहरी मुख्यालयले आन्तरिक छानविन गरेर सिलावालविरुद्ध कारबाही समेत चलाएको थियो । उनै थापाका कारण सिलवालको आईजीपी बन्ने सपना चकनाचुर बनेको थियो । सिलावले ७ वर्ष अगाडि त्रिपुरेश्वरस्थित होटेल अर्किडबाट थापालाई पक्राउ गरेर गायब बनाउने प्रयास समेत गरेका थिए । तर, पत्रपत्रिकामा समाचार आएपछि बाध्य भएर थापालाई छाड्नु परेको थियो ।

Published : Saturday, 2017 October 7, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया