गुगलले ल्यायो वायरलेस इयरफोन, भाषा अनुवाद हुने

लसएञ्जलस । गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गरेको छ । स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ ।

यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता । इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्ने छन् ।

‘पिक्सेल बड्स’ भनिएको सो इयरफोनले उही समयमै ४० भाषाको अनुवाद गर्न सक्दछ । भाषाहरूको सूचीमा नेपाली पनि अटाएको छ ।

बुधबार गुगलको कार्यक्रममा पिक्सेल बड्स लगाएका दुई फरकभाषी व्यक्तिले डेमो दिएका थिए । जसमध्ये एक अंग्रेजीभाषी र अर्को स्वीडिस थिए ।

दुवैले आ–आफ्नो भाषामा कुरा गरे र इयरफोनले तुरुन्तै त्यसलाई अनुवाद गरिदियो । पिक्सेल बड्सको नेपाली अनुवाद चाहिँ कस्तो हुनेछ, यसै भन्न सकिन्न ।

भाषा अनुवादका अलावा पिक्सेल बड्सको माध्यमबाट प्रयोगकर्तालाई गुगल असिस्टेन्टले नोटिफिकेसन, मेसेज पनि दिन सक्छ । प्रयोगकर्ताले आफूलाई भाषा अनुवादको आवश्यकता परे दायाँतिरको इयर बडमा छोएर ‘मलाई फलाना भाषा बोल्न सहयोग गर’ भने मात्रै पुग्छ ।

अथवा पिक्सेल बड्सलाई छोएर वा बोलेर पनि निर्देशन दिन सकिन्छ । दायाँतिरको बड्समा यसको सम्पूर्ण नियन्त्रण राखिएको छ ।

पिक्सेल बड्सलाई एक पटक चार्ज गरेर पाँच घण्टासम्म चलाउन सकिन्छ । अमेरिकामा यसको मूल्य १५९ डलर रहेको जनाइएको छ ।

यदि अहिले भनिएझैँ वा स्टेजमा देखाइएझैँ सरल तरिकाले पिक्सेल बड्सले काम गर्ने हो भने यसले बजारमा तहल्का पिट्ने अनुमान गरिएको छ ।

गुगलको स्मार्टफोनहरु पिक्सेल २ र पिक्सेल २ एक्सएलको मूल्य भने क्रमशः ६४९ तगा ८४९ डलर राखिएको छ । गुगलका यी उत्पादनहरुको प्रिअर्डर खुला गरिएको छ, जुन नोभेम्बरको सुरुदेखि बजारमा उपलब्ध हुने जनाइएको छ । – एजेन्सी

Published : Friday, 2017 October 6, 9:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया