फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए ।

यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो ।

म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन् । उनले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू हुने जनाएका छन् ।

फ्रान्सको संवैधानिक परिषद्ले गत अगस्टमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो । सरकारले कानूनी तथा प्राविधिक सुधारसहित नयाँ मस्यौदा अघि बढाएको छ ।

म्याक्रोनले युरोपेली संघ (इयु)का अन्य सदस्य राष्ट्रमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउने समान व्यवस्था लागू गर्न आग्रह गर्दै आएका छन् । नयाँ प्रस्ताव युरोपेली संघ (इयु)को कानूनअनुकूल भए–नभएको सुनिश्चित गर्न आयोगलाई जानकारी गराइएको छ ।

Published : Monday, 2026 September 14, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया