आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन १८ का लागि उपभोक्ताले सन् २०२७ सम्म कुर्नुपर्ने हुनसक्छ । एप्पलका प्रमुख आपूर्तिकर्तामध्ये एक पेगाट्रोनको विवरण र त्यसमा आधारित रिपोर्टमालाई लिएर विश्वभर यसको चर्चा भइरहेको छ ।

तालिकाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स सेप्टेम्बर २०२६ मै सार्वजनिक हुन सक्छन्, जुन नियमित समय हो । त्यही कार्यक्रममा एप्पलको पहिलो फोल्डेबल आइफोन पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । सामान्य आइफोन १८ भने सन् २०२७ को पहिलो त्रैमासिक, अर्थात् जनवरीदेखि मार्चबीचमा बजारमा आउने सम्भावना देखिन्छ ।

यस्तो अवस्थामा कम्पनीहरूले सीमित कम्पोनेन्टलाई बढी नाफा दिने उत्पादनमा प्रयोग गर्ने गर्छन् । आइफोन १८ प्रो र प्रो म्याक्सको मूल्य सामान्य मोडेलभन्दा बढी हुने भएकाले एप्पलले उपलब्ध सामग्री पहिले प्रिमियम मोडेलमा प्रयोग गर्ने रणनीति अपनाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

यसले एप्पललाई दुईवटा फाइदा दिनसक्छ । पहिलो, सीमित आपूर्तिबाट पनि महँगा मोडेल बिक्री गरेर आम्दानी कायम राख्न सकिन्छ । दोस्रो, सामान्य मोडेलको उत्पादन पछि सारेर आपूर्ति व्यवस्थापनका लागि थप समय प्राप्त हुन्छ ।

यदि हालका रिपोर्ट सही भएमा एप्पलको सेप्टेम्बर कार्यक्रम यसपटक सामान्यभन्दा फरक हुनेछ । कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्ससँगै कम्पनीको पहिलो फोल्डेबल आइफोन पनि सार्वजनिक हुनसक्छ । एप्पल स्वयंले यसबारे घोषणा गरिनसके पनि बजार विश्लेषणहरुमा यसको चर्चा भइरहेको छ ।

मेमोरी चिपको अभाव र बढ्दो मूल्यले आगामी आइफोन महँगो हुन सक्ने अनुमान पनि गरिएको छ । पेगाट्रोनको विश्लेषणअनुसार मेमोरीको माग र आपूर्तिबीचको असन्तुलन तत्काल समाधान नहुन सक्छ । कारण, बजार सामान्य अवस्थामा फर्किन सन् २०२८ सम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

एआई सर्भरका लागि आवश्यक चिपमा विश्वव्यापी माग तीव्र रूपमा बढिरहेका बेला स्मार्टफोन निर्माताले पनि उही आपूर्ति स्रोतमा निर्भर हुनुपरेको छ । उत्पादन लागत बढेमा त्यसको केही हिस्सा उपभोक्तामाथि सारिन सक्छ । त्यसैले आइफोन १८ प्रो, प्रो म्याक्स र सम्भावित आइफोन अल्ट्राको मूल्य अघिल्लो भन्दा माथि जाने सम्भावना देखिन्छ ।

Published : Wednesday, 2026 August 19, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया